INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन सुरक्षा र मतदाताको अधिकारबारे सरोकारवालावीच छलफल

निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सरोकारवालाहरुले बताएका छन् । फागुन १८ गते घोराहीमा भएको पत्रकार, निर्वाचन पर्यवेक्षक, नागरिक समाज र अधिकारकर्मीहरुको छलफलमा सरोकारवालाहरुले लोकतन्त्रलाई बलियो बनाउन स्वच्छ, निस्पक्ष निर्वाचन जरुरी रहेको बताए । नेपाल पत्रकार महासंघ दाङमा भएको निर्वाचन, सुरक्षा र मतदाताको अधिकार विषयक छलफलमा बोल्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पूर्व कार्य समिति सदस्य शोभाकर बुढाथोकीले मतदाताले स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न नपाउने हो भने त्यसबाट आउने नतिजाले लोकतन्त्रको संरक्षण गर्न नसक्ने बताउनुभयो । ‘दलहरुले विनाअवरोध जनतामा पुग्न पाउनुपर्छ । त्यसैगरी मतदाताले निर्भयका साथ मन परेको दल र उम्मेदवारलाई मतदान गर्न पाउनुपर्छ सुरक्षा विज्ञ बुढाथोकीले भन्नुभयो,–‘ त्यसका लागि सुरक्षा, मतदाता शिक्षाको वातावरण तयार हुनुपर्छ । मुख्यगरी सुरक्षा र सहजरुपमा निर्वाचन गर्ने वातावरण अनिवार्य छ ।’ उहाँले निर्वाचनको अपरिहार्यतालाई लोकतन्त्र र संविधानसँग जोडेर हेर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले हिजोभन्दा आज निर्वाचन धेरै सुधारिएको उल्लेख गर्दै थप सुधारका लागि इन्सेकले नियमितरुपमा पर्यवेक्षणको काम गरिरहेको बताउनुभयो । ‘२०४७ यताका चुनावहरुमा झडप हुने, कार्यकर्तावीच भिडन्त हुने र एकअर्कालाई निषेध गर्ने, बुथ कव्जा गर्ने, उस्तै परे नतिजा नस्वीकार्ने गरिन्थ्यो गौतमले भन्नुभयो,–‘ तर अहिले त्यस्तो छैन, एकअर्काको अस्तित्व स्वीकार गर्ने र कम्तीमा दलहरुले चुनावमा अनिवार्य घोषणापत्र ल्याउने र छलफल चलाउने वातावरण बनेको छ यो सकारात्मक पक्ष हो ।’ तर उहाँले अझै थुप्रै सुधार गर्नुपर्ने पक्ष रहेको र त्यसका लागि निर्वाचन आयोग, सरकार तथा सरोकारवालाहरुलाई घचघच्याउनुपर्ने बताउनुभयो ।

सो अवसरमा नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठले नागरिकले सहजरुपमा मतको प्रयोग गर्न नपाएको बताउनुभयो । उहाँले अहिले पनि कुनै न कुनै माध्यमबाट मतदातालाई प्रभावित गर्ने काम भइरहेको बताउनुभयो । ‘मतदाता शिक्षा निकै कम्जोर छ । हजारौं मतदाता भएको वडामा एक जना सहजकर्ता पठाएर १५ दिनमा कसरी मतदाता शिक्षा हुन्छ ? प्रश्न गर्दै श्रेष्ठले भन्नुभयो,–‘ एकातिर मतदाता शिक्षा नहुने, अर्कोतिर सामाजिक सञ्जालका माध्यमबाट भ्रम छर्ने काम गर्ने हो भने कसरी मतदाताले आफ्नो अधिकारी सहज र स्वतन्त्र भएर प्रयोग गर्न पाउलान ? उहाँले जेल तोडेर भागेका फरार कैदीवन्दी र हतियार निर्वाचनका लागि चूनौति रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, प्रेस काउन्सीलका पूर्व सदस्य शरद अधिकारी, निर्वाचन पर्यवेक्षक प्रकाश ज्ञवाली, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महिला मानवअधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष अनिता पोख्रेल, मानवअधिकार सञ्जाल दाङका सदस्य विनोद केसी, प्याव्सन दाङका सचिव आदीम केसीलगायतले स्वच्छ र भयरहित निर्वाचनमा जोड दिनुभयो ।

 

 

 

जयनारायण पुन

भिडियो