INSEC Online

📅 २०८३ जेष्ठ २१

जुम्लाका जनप्रतिनिधि चुनावी प्रचारप्रसारमा  

जनप्रतिनिधिले चुनावी प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरेको छ । तर जुम्लाका वडाध्यक्ष, गाउँपालिका अध्यक्ष, उपाध्याक्ष, नगरप्रमुख उपप्रमुख र प्रदेश सांसद समेतले आ–आफ्नो दल तथा उम्मेदवारको चुनावी प्रचारप्रसार गर्दै आएका छन् ।

दुई प्रदेश सांसद, आठ ओटा स्थानीय तहका प्रमुख, उपप्रमुख र ६० ओटै वडाका वडाध्यक्षले चुनावी प्रचारप्रसार गर्दै आएका छन् । स्वतन्त्र उम्मेदवार भएर प्रदेश सांसद निर्वाचित देवेन्द्र शाही काग्रेसका उम्मेदवारको चुनावी प्रचारप्रसार गर्दै आएका छन् भने एमालेबाट निर्वाचित टेकराज पछाई आफ्नो दल र उम्मेदवारको चुनावी प्रसारप्रसार गर्दै आएका छन् ।

यस्तै कागे्रसबाट निर्वाचित हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाही, कनकासुन्दरी गाउँपालिका अध्यक्ष दामोदर आचार्य, गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र माओवादीबाट निर्वाचित सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल चुनावी प्रचारप्रसारमा निकै सक्रिए देखिएका छन् । उनीहरु आ– आफ्नो दल र उम्मेदवारको चुनावी प्रचारप्रसार गर्दै आएका छन् ।

जनप्रतिनिधिले आफ्नो वडा, पालिका र क्षेत्रमा निर्वाचन प्रचारप्रसार गर्न पाईदैन । आचारसंहिता उल्लघंन हुन्छ । पालिका अध्यक्ष, उपाध्यक्ष वडाध्यक्ष, मेयर उपमेयर प्रदेश सांसदले निर्वाचन गरेको भेटिएमा तथ्य प्रमाणसहित नियन्त्रणमा लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय र प्रहरीमा बुझाउन राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले युवालाई अपिल गरेका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारी, शिक्षकहरुलाई पटक–पटक परिपत्र गरी सचेत गराउदै आएको मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले बताउनु भयो ।

एक निर्वाचन क्षेत्र रहेको जुम्लामा एक स्वतन्त्रसहित १० जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका छन् । ७१ हजार ७ सय ३९ जना मतदाता रहेका छन् । यहाँ ८५ मतदान स्थल र १ सय १० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी दिपेन्द्र कडेले बताउनु भयो ।

 

मानदत्त रावल

भिडियो