काभ्रेपलाञ्चोकका पाँच जना उम्मेदवारले बैंक खाता नखोलेको र खाता खोलेका १८ उम्मेदवारले पनि निर्वाचन कार्यालय तथा कोष तथा लेखा नियन्त्रक कार्यालयमा खाता नम्बर बुझाएका छैनन् ।
जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार छन् । जसमध्ये नेपाल मजदुर किसान पार्टीले दलको खाता मार्फत देशभरका १ सय ६५ ओटै निर्वाचन क्षेत्रमा खर्च गर्ने जानकारी गराएको छ ।
बैंक खाता खोलेर मात्रै बैङ्किङ कारोबारबाट मात्रै आफ्नो खर्च गर्न निर्वाचन आयोगले अनुरोध गरेतापनि जनता समाजवादी पार्टी नेपालका मानबहादुर तामाङ र रकम लामा तामाङ, स्वतन्त्र उम्मेदवार युवराज चौलागाई, गणेशप्रसाद अधिकारी र लेनिन विष्टले बैंक खाता खोलेका छैनन् ।
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि जारी गरेको निर्वाचन आचारसंहिताको दफा १६ बमोजिम निर्वाचनको खर्चसम्बन्धी आचरणको व्यवस्था छ । सो बमोजिम उम्मेदवारहरुले आफ्नो अनुमानित निर्वाचन खर्च र त्यसको स्रोत समेत खुलेको व्यहोरा उम्मेदवारी दर्ता गर्दा नै पेश गर्नुपर्ने र सो बमोजिम आफ्नो खर्च सञ्चालन गर्नको लागि बैंकमा छुट्टै खाता खोल्नुपर्ने, खाता सञ्चालनको लागि छुट्टै पदाधिकारी तोकिनुपर्ने साथै खातामा आएका सबै रकमहरुको बिल भरपाई र खर्च भएको रकमको पनि बिल भरपाई राख्नुपर्ने व्यवस्था छ ।
त्यस्तै राजनीतिक दल, उम्मेदवारहरुले गरेको खर्च र खर्चको स्रोत तथा सार्वजनिक सम्पतीको प्रयोग भए वा नभएको विषयमा जानकारी संकलन गर्ने र उम्मेद्ववारहरुले पेश गरेको विवरणलाई पनि अनुगमन गर्नेगरी निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ । यसरी निर्वाचन खर्चलाई पारदर्शी रुपमा सञ्चालन गर्ने व्यवस्था आयोगले गरेको छ ।