धनुषाधाम नपा-७ धारापानी घर भएकी १८ वर्षीया कोशिला मण्डललाई थप १ लाख रुपियाँ दाइजो नल्याएको भन्दै सासु ४५ वर्षीया कमल देवी मण्डल, ४० वर्षीया काकी सासु किसुन देवी मण्डल, ४५ वर्षीय काका ससुरा दिनेश मण्डल, नन्द १७ वर्षीया मनिता मण्डल र १५ वर्षीया शर्मिला मण्डल समेतले मिलि वैशाख ३ गते राती ११ बजेको समयमा कुटपिट गरि घाटी थिचि ज्यान मार्ने प्रयास गरेको भन्दै पीडितले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालय महिला सेलमा उजुरी दिएकी छन् ।
डेढ वर्षपहिले प्रेमलाई समाजिक विवाहमा रुपन्तर गरी एक वटा मोटरसाइक, दुई तोला सुन, ४ लाख ५० हजार रुपियाँ नगद, ९० हजारको फर्निचर, दराज, ग्याँस चुल्हा, ग्याँस सिलिन्डर र भाँडाकुँडासहित दाइजो दिई छोरीको विवाह गाउँको मनिष मण्डलसँग गरिएको पीडितको आमा लिलमाया देवीले बताइन् । करिव १० लाख रुपियाँ बरावरको दाइजो दिएपनि ज्वाँइले पटक पटक थप १ लाख रुपियाँको लागि दबाव दिँदै आएको उनले बताइन् ।
छोरी कोशिलाले मनिषसँग विवाह गर्न नमानेपछि मेरो खुट्टा समातेर रोएका कारण माया लागेर आफ्नो नाता कुटुम्वको पनि कुरा नसुनी विवाह गरी दिएको तर छोरीले आज दुःख पाएको लिलमायाले दुःखेसो पोखिन् । जिल्ला प्रहरी कार्यालय महिलामा उजुरी दिन आएकी लिलमायाले भनिन्-अब छोरीको जीवन कसरी चल्छ ? ।
घटना भएको पाँच दिन पहिले सासु ससुराले कुटपिट गरेकाले भागेर माइती पुगेकी कोशिलालाई मलेसिया रोजगारीमा रहेका पति मनिष मण्डलले माइती पक्षसँग माफी मागी वैशाख ३ गते घर फर्काएका थिए । सोही राती योजनाबद्ध रुपमा घर परिवार मिली हत्या गर्ने प्रयास गरेको पीडित पक्षको आरोप छ ।
दिदीलाई ससुराली पुर्याउन गएका सानो भाइले कुटपिट गरिरहेको देखेर आफ्नो घरमा फोन गरी दाजु रामकुमार मण्डललाई बोलाएका थिए । बहिनीलाई कुटपिट गरिरहेको देखेर तत्तकाल ईलाका प्रहरी कार्यालय धारापानीमा फोन गरी प्रहरी बोलाएको रामकुमारले बताए । प्रहरीले कोशिलालाई उद्दार गरी स्थानीय ग्राण्डी हेल्थ केयर सेन्टर प्रालिमा उपचार गराएको छ ।
यता बहिनीको घरमा किन आएको र प्रहरीलाई किन बोलाएको भन्दै मलेशियामा रहेका पति मनिषले आफु दुई चार दिन भित्र केही दिनको बिदा लिएर नेपाल आउँदैछु, तिम्रो दाजु रामकुमारलाई ज्यान मारि दिने धम्की दिएको पीडित कोशिलाले बताइन् । जिल्ला प्रहरी कार्यालय महिला सेलमा उजुरी परेपछि घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको महिला सेलले जनाएको छ ।