जलेश्वर नपा-१२ मलिवारा बस्ने नवीन पाण्डेका ११ वर्षीय छोरा क्युट भनिने निश्चल पाण्डेलाई अपहरण गरी हत्या गरेको कसुरमा जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएका जलेश्वर नपा-१ का पप्पु यादव र वडा नं ६ का २० वर्षीय गोविन्दकुमार मिश्रलाई महोत्तरी जिल्ला अदालतले वैशाख ४ गते जनही ३१ वर्षकैद सजायको फैसला सुनाएको छ ।
जलेश्वर नपा-१२ मलिवारा गाउँबाट बालक पाण्डेलाई ०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर नपा-१३ स्थित रातु खोलाको पुल नजिकै खरघारीमा हत्या गरेर गाडेको कसुरमा अदालतले उनीहरूलाई सो सजायको फैसला सुनाएको हो । साथै दुवै जनालाई जनही १६ लाख रुपियाँ जरिबाना समेत गरिएको अदालतका श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताए ।
सोही मुद्दामा जलेश्वर नपा-२ का शिवम चौधरीलाई अदालतले ११ वर्षकैद र १६ लाख रुपियाँ जरिबानाको फैसला सुनाएको छ । बालक हत्या घटनाको आरोपमा उनीहरूलाई ०७२ माघ ४ गते गिरफ्तार गरिएको थियो ।
उनीहरूले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर नपा-१२ स्थित बस बिसौनीबाट अपहरण गरी लगेर उनका बुबा नवीनसँग ३० लाख भारतीय रुपियाँ फिरौती मागेका थिए ।
बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि उनीहरूले उनको नाकमुख थुनेर घाँटी थिची हत्या गरेका थिए । निश्चलको शव ०७२ माघ ४ गते फेला परेको थियो ।