महावै गाउँपालिका-३ का २६ वर्षीय चक्रबहादुर सिंह र खाँडाचक्र नपा-९ की २० वर्षीया पुत्ती मल्ललाई जिल्ला अदालत कालिकोटले बहुविवाह गरेको कसुरदार ठहर गर्दै एक वर्षकैद सजाय र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।
न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलाशले चैत १७ गते उक्त फैसला गरेको जिल्ला अदालत कालिकोटका श्रेस्तेदार शाखा अधिकृत शोभाखर खरेलले जानकारी गराएका छन् ।
चक्रबहादुर सिंहले पुत्ती मल्लसँग गत असार २९ गते बहुविवाह गरेको भन्दै उनकी जेठी पत्नी राजु सिंहले साउन ९ गते जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दर्ता गराएकी थिइन् ।
आरोपितहरू दुवैजना फरार रहेकाले उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी सुवासचन्द्र वोहाराले बताए ।