INSEC Online

📅 २०८३ जेष्ठ २२

जातीय विभेद उन्मुलन दिवस विविध कार्यक्रम गरी मनाइयो

५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस देशभर विविध चेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया गरेर मनाइएको छ ।

डोल्पामा पहिलो पटक ५३ औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस भव्य रूपमा मनाइएको इन्सेक डोल्पा जिल्ला प्रतिनिधि विष्णुप्रसाद देवकोटाले जनाएका छन् ।

जिल्लास्तरीय रूपमा मनाइएको दिवसमा विभिन्न क्षेत्रबाट सहभागी भएका दलित समुदायले जातीय विभेद विरूद्धका सन्देशमुलक नाचगान, देउडा, नाटक, मुक्तकलगायतका प्रस्तुतीहरू थिए ।

photo20180322dolpa

दलितको हातबाट गैर दलितले पिए जुस र पानी

उक्त कार्यक्रममा दलित तथा गैरदलित समुदायका व्यक्तिहरूको सहभागितामा कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिका उपप्रमुख चन्द्राकुमारी बुढा, त्रिपुरासुन्दरी नपा-१ का स्थानीय समाजसेवी दिलबहादुर बिष्ट, अन्तर पार्टी महिला सञ्जाल डोल्पाकी अध्यक्ष काली चलाउने, त्रिपुरा सुन्दरी नपा-२ का वडा अध्यक्ष नन्दबहादुर थापालगायतका गैर दलितहरूले दलितको हातबाट जुस र पानी पिएर जातीय विभेद न्यूनीकरणको सन्देश दिए ।

अन्तरजातीय बिहे गर्नेलाई सम्मान

कार्यक्रमा अन्तरजातीय विवाह गर्ने जोडीलाई दोसल्ला र टोपी लगाएर सम्मान गरिएको थियो । त्रिपुरासुन्दरी नपा-१ अन्तर्गत रल्ली गाँउका हरि कुलाल र हरिमाया थापालाई नगर उपप्रमुख बुढा र वडा नं १ का अध्यक्ष कर्मसिँह थापाले अविर र दोसल्ला ओढाएर संयुक्त रूपमा सम्मान गरेका थिए ।

इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरीदत्त बडुका अनुसार जातीय विभेद अझै हट्न नसकेकोमा बैतडीमा आयोजित एक कार्यक्रममा सरोकारवालाले चिन्ता व्यक्त गरे । दलित समुदायका व्यक्तिलाई छोएपछि गैरदलित समुदायका व्यक्तिहरूले छिटो हाल्ने चलन अझै विद्यमान रहेको दलित समुदायका व्यक्तिहरूको गुनासो रहेको छ ।

photo20180322baitadi (1)

इन्सेक, दलित महिला सङ्घ, मानव अधिकार एलाइन्स, राष्ट्रिय दलित नेटवर्क र दलित समाज विकास मञ्चले चैत्र ७ गते आयोजना गरेको ५३ औँ जातीय विभेद उन्मुलन दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो चिन्ता र गुनासो आएको हो ।

“अरू त परै जाओस् विद्यालयमा दिवा खाजा खाने बेलामा समेत दलित समुदायका विद्यार्थीहरूलाई अलग्गै खुवाउँछन् ।”-पञ्चेश्वर गाउँपालिका-१ का पदम बिकले भने । शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, सुर्नयाँ गाउँपालिका र दशरथचन्द नगरपालिकाका केही विद्यालयमा यस्तो समस्या रहेको कार्यक्रममा सहभागिहरूले बताएका छन् ।

photo20180322baitadi (2)

‘वडा कार्यालयको मिटिङ बस्दा आफूले छोएको पानी अन्य सदस्य तथा वडा अध्यक्षले खाँदैनन् ।’-सुनयाँ गाउँपालिका-३ का वडा सदस्य जानकी टेलरले भनिन् ।

“वडाका वडा अध्यक्षले नै त्यस्तो गरेपछि अरूलाई त के भन्ने र !”-टेलरले दोहोर्‍याइन् । दशरथ चन्द नगरपालिका-११ मा रहेको नागार्जुन मन्दिरमा त मुल गेटमै दुई जना छिटो हाल्ने व्यक्तिहरू राखिएको स्थानीय प्रेम दयालले बताए ।

photo20180322baitadi (3)

“यस्तो  विभदको बारेमा आवाज उठाउँदा समाजबाटै बहिष्कृत हुने डर छ ।”-उनले भने । अप्रत्यक्ष रूपमा दलितहरूले विभिन्न किसमका विभेदहरूको सामाना गर्नुपरेको पत्रकार गोकर्ण दयालको भनाई छ ।

इन्सेक अछाम जिल्ला प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार अछाम जिल्लामा विभिन्न चेतनामुलक कार्यक्रम गरिएको छ ।

सभामा मन्तव्य राख्ने व्यक्तिहरूले कानुन आइसक्दा समेत दलितलाई गर्ने व्यवहार परिवर्तन हुन नसकेको भनाइ राखेका छन् । उनीहरूले धारा, सार्वजनिक स्थान, काम, मन्दिरलगायतमा दलितलाई तल्लो तहको व्यवहार भइरहेको प्रति चिन्ता व्यक्त गरेका छन् । दलित अगुवा भीम जनालाले गैरदलितले दलितलाई दोश्रो दर्जाको नागरिकको रूपमा हेर्ने गरेको भन्दै गणतन्त्र नेपालमा समेत परिवर्तन हुन नसकेको गुनासो गरे ।

photo20180322achham (1)

दलितहरूमा पनि महिला दलित अझ बढी भेदभावमा रहेको महिला अधिकारकर्मी लक्ष्मी सोवको भनाई छ । जिल्ला बार एकाइ अछामका अध्यक्ष कृष्णप्रसाद ढुङ्गानाले समाजमा जातीय छुवाछुत भइरहेपनि कानुनी ज्ञान र प्रक्रियाका कारण न्यायमा नआएको भनाइ राखे ।

photo20180322achham (2)

अन्य

भिडियो