जनप्रतिनिधिले आफ्नो पदबाट राजिनामा दिनुपर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनपरिषद् सल्यानले चैत ५ गते जिल्लाका १० ओटै स्थानीय तहलाई धम्की दिएको छ ।
स्थानीय तह गठन गरेर जनताको अर्थतन्त्र र दैनिकी झन् बर्बादीको दिशामा गएको भन्दै जनपरिषद्ले राजिनामा दिन दबाव स्वरूप स्थानीय तहका प्रमुखलाई पत्र पठाएर धम्की दिएको हो ।
चैत ५ गते केही नगरपालिका तथा गाउँपालिका प्रमुखको कार्यकक्षमै पुगेर सो पार्टीका कार्यकर्ताले पत्र थमाएका हुन् ।
जनता लुट्ने लुटतन्त्रका रूपमा दलाल सत्ताले विभिन्न बहानामा लुटेर गरीबी, बेरोजगारी, दिनदिनै बाकसमा आउने लास, महङ्गी कालोबजारी, असमनताले नेपाली समाज आक्रान्त भएको भन्दै जनपरिषद् सल्यानले राजिनामा मागेको जनाएको छ ।
जनपरिषद्ले दलाल पुजिँवादी सत्तासँग जुनसुकै प्रकारको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार आफैँ हुनुपर्ने चेतावनी समेत दिएको जनाइएको छ ।