INSEC Online

📅 २०८३ जेष्ठ २१

छोराछोरीलाई जलाएको आरोपमा आमा गिरफ्तार

खाँडादेवी गाउँपालिका-६ का चार वर्षीय बिपिन खत्री र दुई वर्षीया रमिता खत्रीलाई चैत ४ गते राति जलाएर हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीया आमा तारा केसीलाई तत्काल गिरफ्तार गरेको छ ।

उनले सौताको रिसमा आफ्नै घरमा आगो लगाउँदा जलेर दुबै छोराछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाँडादेवी गाउँपालिका-६ माकादुम पन्नेचौरकी दिलबहादुर खत्रीकी जेठी पत्नी ताराले पति र सौताको रिसमा छोराछोरीसहित जलेर मर्ने भन्दै दुई छोराछोरीसहित बस्दै आएको आफ्नै  कटेरोमा आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजकुमार थापाका अनुसार राति १०:३० बजेतिर छोराछोरी निदाएपछि उनले कटेरोमा आगो लगाउँदा सुतिरहेको अवस्थामा उनीहरूको जलेर मृत्यु भएको हो । प्रहरीका अनुसार आगो लगाउने तारा केसीले पनि लगाएका कपडा डढ्नुका साथै आगोले सामान्य पोलेको छ ।

आगो लगाउने तारा केसी पतिले कान्छी पत्नी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी थिइन् । पतिले अर्की पत्नी ल्याई आफूलाई हेला गरेकोले छोराछारी र आफू पनि मर्ने भनी आगो लगाएको प्रारम्भिक बयान दिएको इन्स्पेक्टर थापाले बताए । उनका अनुसार आगो लगाउने तारा केसी र उनका पति दिलबहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

आगोलागीमा परी मृत्यु भएका दुवै जनाको शव सदरमुकाम मन्थली ल्याइएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो