घोडाघोडी नपा-५ देहुकुलीया की १८ वर्षीय राधा चौधरीलाई फागुन २४ गते सोही ठाँउका २५ वर्षीय गुरूवा रामबहादुर चौधरी र किसमती चौधरीले कथित बोक्सीको आरोपमा कुटपिट गरेका छन् ।

पीडित चौधरी घरमा बसिरहेको अवस्थामा उनलाई घरबाट सार्वजनिक स्थलमा ल्याएर आरोपितद्वयले करिब दुई घण्टासम्म कुटपिट गरेको पीडितकी आमा फुलकेसी चौधरीले आरोप लगाइन् ।
आरोपितलाई कारवाहीको माग गर्दै सुख्खडस्थित प्रहरी कार्यालयमा निवदेन दिन जाँदा प्रहरीले निवेदन दर्ता नगरेको र मिलापत्र गर्न दबाव दिएको समेत पीडित पक्षले आरोप लगाएको छ ।
कुटपिटबाट घाइते भएकी पीडित चौधरीको उपचार घोडाघोडी अस्पतालमा हुन नसकेपछि फागुन २५ गते थप उपचारका लागि सेती अञ्चल अस्पतालमा लगिएको छ ।
इन्सेक, राष्ट्रिय मानव अधिकार आयोग र धनगढीस्थित विभिन्न सङ्घसंस्थाको दबावपश्चात फागुन २५ गते पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयले पीडित पक्षको निवेदनका आधारमा आरोपितद्वय मध्ये रामबहादुर चौधरीलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको छ भने पीडित चौधरीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।