INSEC Online

📅 २०८३ जेष्ठ २१

गर्भवतीको मृत्युपछि अस्पताल तनावग्रस्त

प्रसव पिडाले छटपटिएर विष्णुपुर गाउँपालिका-१ प्रि्राहीकी २४ वर्षीया अनिता यादवको मृत्यु भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल फागुन १७ गते बिहानैदेखि तनावग्रस्त बनेको छ ।

बिरामीका आफन्त र गाउँलेले चिकित्सकको लापरबाहीले यादवको मृत्यु भएकाले कारबाहीको माग गर्दै नाराजुलुस गर्दै टायर बालेर विरोध प्रदर्शन गरेपछि तनावग्रस्त बनेको अस्पतालको सेवा प्रभावित बनेको छ । चिकित्सकहरूले अन्य बिरामीहरूको समेत स्वास्थ्य जाँच गर्न नपाएपछि बिरामीहरू मर्कामा परेका हुन् ।

सुत्केरी व्यथाले च्यापेपछि नियमित चेकजाँच गर्दै आएका डाक्टर दिलिपकुमार साहको सल्लाहमा फागुन १४ गते अस्पताल भर्ना भएकी अनीताको गएराति १ बजे मृत्यु भएको थियो । व्यथा चर्केपछि राति नै डा. साहलाई पटकपटक फोन गरेपनि नउठाएको र अस्पतालले समेत नबोलाइ दिएकाले आफ्नी पत्नी र बच्चा दुवैको मृत्यु भएको मृतकका पति रमेश यादवले आरोप लगाए । मृतकका चार वर्षीय छोरा आकाश र साढे एक वर्षीया छोरी सरस्वती छन् ।

राति १ बजे बान्ता भइ खाना सर्केर बिरामी थरथर काम्न थालेपछि ड्युटीमा रहेकी नर्सले फोन गरेर बोलाएपछि डाक्टर साह आइपुग्दा बिरामीको मृत्यु भइसकेको थियो । अस्पतालको लापरवाहीले बिरामी र बच्चा दुवैको मृत्यु भएको हल्ला गाउँमा पुगेपछि ट्याक्टर र टेम्पोमा राजविराज आएका स्थानीयले अस्पताल घेराउ गर्दै डा. साहको बोर्ड र टायर बालेर प्रदर्शन गरेका छन् ।

अस्पताल प्रशासनले भने वार्ता गरेर सहमतिका साथ समस्या समाधान गर्ने प्रयास गरिरहेको छ । राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव, उपमेयर साधना झा, वडा अध्यक्षहरू, बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादव, राजनीतिक दलका प्रतिनिधिहरू, सहायक प्रजिअ नरबहादुर खडका, नेपाल प्रहरीका एसपी मुकेशकुमार सिंह, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट दयाशङ्कर लाल कर्ण तथा पीडित पक्ष बसेर घटनाको छानबिन गर्ने विषयमा वार्ता भइरहेको छ ।

अन्य

भिडियो