इन्सेक कार्यालय, धनगढी र ओरेक, कैलालीको संयुक्त आयोजनामा फागुन १५ गते मानव अधिकार विश्वव्यापी आवधिक समीक्षा परामर्श गोष्ठी धनगढीमा सम्पन्न भएको छ ।
नेपालमा मानव अधिकारको कार्यान्वयनको अवस्थाका बारेमा सुझावहरू सङ्कलन गर्ने उद्धेश्यले आयोजित गोष्ठीमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) का कार्यक्रम संयोजक सङ्गीता तिमल्सिना र ओरेकका कोषाध्यक्ष पार्वती बस्नेतले संयुक्त राष्ट्र सङ्घीय संयन्त्र विश्वव्यापी आवधिक समीक्षाका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
परामर्श गोष्ठीमा संयुक्त राष्ट्रसङ्घको परिचय, मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संयन्त्रहरू, संयुक्त राष्ट्रसङ्घका उद्धेश्य, यसका आधारभूत सिद्धान्त, राष्ट्रसङ्घका मुख्य अङ्गहरू र मानव अधिकारको विश्वव्यापी घोषण पत्रका बारेमा ओरेकका संयोजक तिमल्सिनाले जानकारी गराएकी थिइन् ।
ओरेककी कोषाध्यक्ष बस्तेतले विश्वव्यापी आवधिक समीक्षाको परिचय, यसका उद्धेश्य, यूपीआरमा सूचनाको आधार, ओएचसिएचआरको प्रतिवेदन, नेपाल सरकालबाट तयार पारिएको प्रतिवेदन्, गैरसरकारी संस्थाले तयार पार्ने प्रतिवेदन र यसको ढाँचालगायतका विषयमा प्रस्तुतीकरण गरेकी थिइन् ।
सहभागिहरूले वातावरणको अधिकार, बालविवहाको अवस्था, मानव बेचबिखन, खाद्य अधिकारका सवाल, ज्येष्ठ नागरिकका अधिकार, अपाङ्गता भएका व्यक्तिहरूका अधिकारका विषयमासमेत संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत गरिने समीक्षा प्रतिवेदनमा समावेश गर्न सुझाव दिएका थिए ।