१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका-५ बराम्चीका ४५ वर्षीय शङ्खलाल तामाङविरुद्ध ०७४ फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले पुस २९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्यमा समस्या आएपछि उनकी आमाले आफ्नी छोरीमाथि बलात्कार भएको कुरा फागुन ६ गते थाहा पाएर उजुरी दिन सदरमुकाम आएको बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ७ गते चौतारा अस्पतालमा भएको छ । पीडित बालिकाको उपचार सोही अस्पतालमा भइरहेको छ । आरोपित हालसम्म फरार रहेकाले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनप्रसाद पोखरेलले बताए ।