अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको अयोजनामा असार २३ गते सप्तरी जिल्ला शम्भुनाथ नगरपालिकालिका–३ स्थित श्री जनता रामदयाल माध्यमिक विद्यालयमा वातावरण अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।
कार्यक्रममा वातावरणीय अधिकारकार्मी तथा प्रशिक्षक अशोक साहले वातावरण विनासको विषय सबैको सरोकारको विषय भएकोले हरेक जिम्मेवार नागरिकले यस विषयलाई विशेष ध्यान दिनु आवश्यक रहेको बताउनु भयो ।

स्थानीय स्तरमा भएका वातावरण संरक्षणका प्रयासहरुबारे जानकारी गराउँदै सड्ने र नसड्ने फोहोर व्यवस्थापन र प्लाष्टिक प्रयोगले वातावरणमा पार्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असरका बारेमा सहभागीहरुलाई उहाँले जानकारी गराउनु भएको थियो । वातावरण संरक्षण गर्ने कार्यमा स्थानीय सरकारले योजना बनाएर कार्य गर्नुपर्नेमा उहाँको जोड थियो ।
विद्यालयका प्रधानाध्यापक कालिप्रसाद चौधरीले गाउँ, घरको वातावरण प्रदुषण हुनुमा स्वयम् हामी नै दोषी रहेको बताउनु भयो । अव्यवस्थित फोहोर मैला र घरमा शौचालय भएपनि बाहिर दिसा पिसाब गर्ने कार्यले वातावरण प्रदुषण हुने हुँदा वातावरण प्रदुषण रोक्न हामी आफ्नो घर परिवारबाटै अघि बढनु पर्नेमा उहाँले जोड दिनु भयो ।
वातावरण र विकासलाई सन्तुलित ढंगले अगाडि बढाए मात्र जीवन र पृथ्वीको सुरक्षा गर्न सकिने र यसमा सबै सरोकारवाला निकायहरुले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने शम्भुनाथ नगरपालिकाका नगर स्तरीय मानव अधिकार समूहका सदस्य शंकर साहले बताउनु भयो ।
मानव अधिकार समूहका मधेस प्रदेश अध्यक्ष देवीमाया भटृराइले गाउँ गाउँमा सरसफाइ कार्यक्रमहरु सञ्चालन गर्नुुपर्र्ने र वातावरणको संरक्षण गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु र नागरिक समाजका प्रतिनिधिहरु, मानव अधिकार समूह र विद्यालयका बाल अधिकार सचेतना समुहका सदस्यहरू गरी ५२ जनाको सहभागिता रहेको थियो ।
