INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सन् १९९२ देखि प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व कोशी प्रदेशका विभिन्न जिल्लामा अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

३४ औँ संस्करणको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन गर्नुअघि कोशी प्रदेशका विभिन्न जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारावालाबिच अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो । ३४ औँ संस्करणको नेपाल मानव अधिकार वर्ष पुस्तक ०८२ फागुनमा प्रकाशन हुनेछ ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार इन्सेकको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८२ असार १६ गते सल्लेरीमा सम्पन्न गरिएको छ । अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रममा जिल्लामा ६ महिनाको अवधिमा २० ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।

जिल्लामा सन् २०२५ जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा २० ओटा घटना अभिलेखीकरण गरिएको समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले बताउनु भयो ।

जिल्ला सदरमुकाम सल्लेरीस्थित उद्योग वाणिज्य सङ्घको हलमा आयोजित मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रममा जिल्लामा महिलाविरुद्ध हुने सबै प्रकारको भेदभाव, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहारका सात, अन्य पक्षबाट हत्या, कुटपिटका एक र घरेलु हिसां १२ ओटा घटना अभिलेखीकरण गरिएको छ ।

समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेपालको मानव अधिकार अभियानमा इन्सेकको भूमिका निकै महत्वपूर्ण भएको बताउनु भयो । उहाँले मानव अधिकार सम्बोधन राज्यको मुख्य जिम्मेवारी भएपनि राज्य एक्लैले मानव अधिकारका विषयलाई सम्बोधन गर्न नसक्ने भएकाले इन्सेकजस्ता सामाजिक संस्थासँग समन्वय गरी काम गर्दै आएको बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले इन्सेकले नागरिक तथा राजनीतिक अधिकारका सवालमा धेरै कार्य गरेकाले अब आर्थिक, सामाजिक तथा सांस्कृतिकका सवाललाई केन्द्रमा राख्न सुझाव दिनु भयो । कार्यक्रममा पत्रकार र अधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।

Photo 20250630 Solu (4)

Photo 20250630 Solu (3)

Photo 20250630 Solu (2)

Photo 20250630 Solu (1)

Photo 20250630 Solu (5)

पाँचथर प्रतिनिधि इवारा जबेगु लिम्बूका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पाँचथरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार १३ गते सम्पन्न भएको छ ।

इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि जिल्लामा सन् २०२५ को जनवरीदेखि १ देखि जुन १० सम्म इन्सेकले अभिलेखीकरण गरेका घटनामाथि सरोकारवालाबिच समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

समीक्षा कार्यक्रममा इन्सेक प्रतिनिधिले जिल्लामा ०८१ पुस १७ गतेदेखि ०८२ असारको पहिलो सातासम्म १८ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएको प्रतिवेदन इन्सेकले सार्वजनिक गरेको छ ।

जिल्लामा इन्सेकले अभिलेखकरण गरेको तथ्याङ्क अनुसार दुई जना हत्याको, बलात्कार घटनाको पाँच, हत्या प्रयासको तीन, अभद्र व्यवहारको पाँच, यौन दुर्व्यवहारको दुई र साइवर अपराधको एक गरी १८ ओटा घटना सार्वजनिक गरिएको छ ।

समीक्षा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङदेम्बेले मानव अधिकार उल्लङ्घनका घटनाहरु न्यूनीकरण गर्नका प्रहरी प्रशासन, मानव अधिकारकर्मी, जनप्रतिनिधि, पत्रकार सबैको साझा भूमिका रहेको बताउनु भयो । उहाँले पीडितले न्याय नपाउञ्जेल अधिकारकर्मीको साथ आवश्यक रहेको बताउनु भयो ।

समीक्षा कार्यक्रममा इन्सेकले नागरिकको स्वास्थ्य अधिकारका सवाल उठान गरेको थियो । जिल्ला अस्पतालमा सघन उपचार कक्षका लागि आवश्यक स्वास्थ्य उपकरण भएपनि सोको प्रयोग नभएको र नागरिक आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित भएको विषयमा इन्सेकले सवाल उठाएको थियो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोजकुमार यादवले अभद्र व्यवहार र साइवर अपराधका घटना जिल्लामा मात्रै नभइ देशभर बढेको बताउनु भयो । उहाँले पछिल्ला दिनमा सामाजिक सञ्जालका कारण महिला र बालअधिकारका सवाल निकै सम्वेदनशील अवस्थामा पुगेको बताउनु भयो ।

कार्यक्रममा सशस्त्र प्रहरीका डिएसपी कुमार बराल, हुकुडेक नेपाल पाँचथरका सचिव राजेन्द्र काफ्ले, नेपाल पत्रकार महासंघ पाँचथरका पूर्व अध्यक्ष लक्ष्मी गौतम, किरात याक्थुङ् चुम्लुङ जिल्ला शाखा पान्थरका अध्यक्ष सुरेन शिशिर केरुङ लगायत विभिन्न मिडियामा आवद्ध पत्रकार र अधिकारकर्मीहरूको सहभागिता थियो ।

photo 20250630 pachar 1

photo 20250630 Pachtahr

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार नेपाल मानव अधिकार वर्षपुस्तक २०२६ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा म्याङलुङमा असार ११ गते सम्पन्न गरिएको छ ।

इन्सेक, तेहृथुमको आयोजनामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच असार ११ गते समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

समीक्षा कार्यक्रममा तेहृथुम प्रतिनिधिले सन् २०२५ को जनवरीदेखि जुन ८ सम्म करिब ६ महिनाको अवधिमा जिल्लामा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्याङ्क सार्वजनिक गर्नु भएको छ । इन्सेक अभिलेखका आधारमा  ०८१ पुस १७ गतेदेखि असार १० गतेसम्मको अवधिमा जिल्लामा १७ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना अभिलेखीकरण गरिएको छ । ति घटनामा १७ जना पीडित भएको इन्सेक अभिलेखमा उल्लेख छ । जिल्लामा ६ महिनाको अवधिमा भएका १७ ओटा घटना गैर राज्यपक्षबाट भएका छन् ।

इन्सेक अभिलेखका आधारमा ६ महिनाको अवधिमा बालिका बलात्कारका पाँच, महिला बलात्कार तथा बलात्कारको प्रयासका तीन, घरेलु हिंसा आठ, हत्या प्रयासको एक ओटा घटना अभिलेखीकरण गरिएको छ ।

३५ जनाको क्षमता भएको जिल्ला कारागारमा चार जना महिला गरी ९६ जना कैदीबन्दी राखिएको विषयलाई इन्सेकले समीक्षा कार्यक्रममा उठान गरेको छ । कार्यक्रममा सहभागीहरूले राज्यले कारागारको विषयलाई सम्वेदनशील मान्नुपर्ने अवस्थामा सो नभएको कारागारभित्र कैदीबन्दीको मान अधिकार हनन भएको बताए ।

समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रोशन कामतीले जिल्लामा घरेलु हिंसाका घटना धेरै भएको बताउनु भयो । उहाँले महिला अधिकारका सवालमा न्यायिक समितिमा समेत उजुरी पर्ने भएकाले महिला अधिकारको विषय जिल्लामा सबैभन्दा गहन विषय भएको बताउनु भयो ।

समीक्षा कार्यक्रममा महिला अधिकारकर्मी टङ्कमाया लिम्बूले इन्सेकले मानव अधिकार उल्लङ्घनको मात्रै अभिलेख नराखी शिक्षा, स्वास्थ, रोजगारलगायतका मानव अधिकारका विषय उठान गर्नुपर्ने बताउनु भयो ।

समीक्षा कार्यक्रममा तेहृथुम, इन्सेक पूर्व प्रतिनिधि भगिश्वर लिम्बू, नरबहादुर आम्बुङ, महिला अधिकारकर्मी, अधिकारकर्मी दिपेन लिम्बू, नेपाल पत्रकार महासंघका अध्यक्ष टिआर सेनेहाङ, सचिव कृण्ण बिदुखी गौतम, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

Photo 20250630 terhathum (5)

Photo 20250630 terhathum (4)

Photo 20250630 terhathum (3)

Photo 20250630 terhathum (2)

Photo 20250630 terhathum (1)

इन्सेक प्रतिनिधि एलिना दियालीका अनुसार नेपाल मानव अधिकार वर्ष २०२६ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार ७ गते फुङलिङमा सम्पन्न गरिएको छ ।

इन्सेक ताप्लेजुङको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

समीक्षा कार्यक्रममा जिल्लामा सन् २०२५ को जनवरीदेखि जुन ५ सम्म करिब ६ महिनाको अवधिमा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको छ ।

जिल्लामा ०८१ पुस १६ गतेदेखि ०८२ असार ६ गतेसम्म करिब ६ महिनाको अवधिमा २५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनालाई इन्सेकले अभिलेखीकरण गरेको छ । जसमा ११ ओटा घटना घरेलु हिंसाका, एक महिला र ६ बालिका गरी सात ओटा बलात्कार बलात्कार प्रयासका घटनालाई अभिलेखीकरण गरिएको छ । अभद्र व्यवहारका सात, हत्याका पाँच र बहुविवाहका एक ओटा घटना अभिलेखीकरण गरिएको समीक्षा कार्यक्रममा तथ्याङ्क सार्वजनिक गरिएको छ ।

समीक्षा कार्यक्रममा इन्सेकले स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, ताप्लेजुङ जिल्ला अस्पतालमा दरबन्दीअनुसार चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्थापन हुनुपर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । २५ जनाको क्षमता भएको जिल्ला कारागारमा १ सय ४१ ज्ना कैदीबन्दी राखिएका उनीहरूको आधारभूत मानव अधिकारको सम्बोधन हुन नसकेको विषयमा इन्सेकले सरोकारवालाको ध्यानाकर्षण गरएको छ ।

जिल्लामा पुनस्थापना केन्द्र नहुँदा बाल बिज्याँईमा परेका बालक र हिंसामा परेका महिला तथा बालिकालाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यात्मक स्थिति रहेको विषयलाई इन्सेकले समीक्षा कार्यक्रममा उठाएको छ । सो समस्या समाधानका लागि बजेटको व्यवस्थापन गरिदिन स्थानीय सरकारलाई इन्सेकले आग्रह गरेको छ ।

समीक्षा कार्यक्रममा उपस्थित सरोकारवालाले भारतको उत्तराखण्डस्थित रुद्रपुरमा मानव तस्करीको झल्को दिने गरी प्रलोभनमा परेका नेपालीको उद्धारदेखि जलविद्युतलगायत पूर्वाधार निर्माणमा पानीको मूल सुक्ने समस्याको व्यवस्थापन अभावले नागरिकले भोगेको पीडा इन्सेक प्रतिवेदनमा समेटिनुपर्ने सुझाव दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले आफू र मातहतका निकायबाट प्रदान हुने सेवाको प्रभावकारी वितरणमा कुनै कसर बाँकी नराख्ने बताउनु भयो । कारागारका लागि आफ्नै जग्गा भए पनि भवन नबनिसकेकाले क्षमताभन्दा बढी कैदीबन्दी राख्नु पर्ने बाध्यता भएको प्रजिअ शर्माले समीक्षा कार्यक्रममा बताउनु भयो ।

समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल, नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जन, प्रमुख अनुसन्धान अधिकृत श्रीभजन राय, नेपाली कांग्रेसका जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ, एमाले जिल्ला सचिव सन्तोष चाम्लिङ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सहसचिव लिलाराज पौडेल, ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतम, पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य लगायत अधिकारकर्मी र पत्रकारको उपस्थिति थियो ।

Photo 20250630 Taplejung (1)

Photo 20250630 Taplejung (7)

Photo 20250630 Taplejung (6)

Photo 20250630 Taplejung (5)

Photo 20250630 Taplejung (4)

Photo 20250630 Taplejung (3)

Photo 20250630 Taplejung (2)

इन्सेक सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व जिल्लामा अर्ध वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशन पूर्व अर्ध वार्षिक समीक्षा कार्यक्रममा असार ९ गते जिल्लामा सम्पन्न भएको हो ।

जिल्ला मानव अधिकार सञ्जाल सुनसरी संयोजक रमेश भट्टराईको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा इन्सेकले जिल्लामा ६ महिनाको अवधिमा अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

जिल्लामा सन् २०२५ जनवरीदेखि जुन २० सम्म करिक ६ महिनाको अवधिमा इन्सेकले अभिलेखीकरण गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतिका ४४ ओटा घटना सार्वजनिक गरिएको छ ।

जसमा घरेलुहिंसाका पाँच, गोली प्रहारका घटना तीन, अमानवीय व्यवहारको एक, पत्रकारलाई धम्कीका तीन, बलात्कार तथा बलात्कार प्रयास र यौन दुर्व्यवहारका गरी ३० ओटा घटना अभिलेखीकरण गरिएको छ । परिवारजनबाट भएको एक ओटा घटना अभिलेखीकरण गरिएको तथ्याङ्क सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघका सुनसरी अध्यक्ष तथा समाज कल्याण परिषद राष्ट्रिय स्वास्थ्य कोषका सदस्य सचिव मेघराज न्यौपानेले देशको मानव अधिकारको अवस्था चित्रण गर्ने र अवस्थाको विश्लेषण गर्ने एक मात्रै संस्था  इन्सेक भएकोले सबै खालका अधिकारका सवाल उठान गर्न अझै जरुरी रहेको बताउनु भयो ।  उहाँले नेपाल मानव अधिकार पुस्तक समीक्षामा पटकपटक उठाउने गरेका मानव अधिकारका सवालहरु स्थानीय तहका नीति कार्यक्रम अझ प्रभावकारी रुपमा कार्यान्वयन गराउन पहल गर्नुपर्ने, मानव अधिकार हनन् र ज्यादतीका घटना संख्यात्मक रूपमा कम हुँदै गएको भएपनि अपराधबाट हननका घटना बढेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी योगराज खतिवडाले  हिंसा तथा अपराधजन्य गतिविधिलाई रोकथाम तथा नियन्त्रणका लागि प्रहरीको मात्र प्रयासले नहुने भएकाले इन्सेकसहित सामाजिक संस्थासँग समन्वय गरि काम गरीरहेको बताउनु भयो । उहाँले सूचना, सचेतना, लागु पर्दाथ दुव्र्यवसन विरुद्धको अभियान तथा समुदायमा ध्यानाकर्षण गराउने कार्यक्रम चलाउन अझै जरुरी रहेको बताउनु भयो । प्रहरी मानवअधिकारमैत्री रुपमा काम गर्दै आएको तर विगतमा झै प्रहरीप्रति धारणा रहेकाले त्यसमा नागरिकस्तरबाट बुझाइमा सुधार हुन जरुरी रहेको बताउनु भयो ।

प्रहरीले अहिले अपराध अनुसन्धानदेखि कार्यक्रम तथा गतिविधिसम्म र सेवाप्रवाहसम्मा मानवअधिकारमैत्री रूपमा काम गरेको र अनुसन्धान पनि गरिरहेको  बताउनु भयो । अपराध गर्नेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले कुनै कसर बाकी नराखेको र अझै केही सुधार गर्ने कुरा भए यसलाई अझ प्रभावकारी बनाउन सरोकारवालाहरुको समन्वय र सहकार्य तथा ध्यानाकर्षण हुनुपर्ने बताउनु भयो ।

पत्रकार तजमुल हुसेनले देवानी प्रकृतिका मुद्दाहरु  न्यायिक समितिदेखि अदालतसम्म फैसला र सुनुवाईमा ढिलाई गर्ने भएकाले नागरिकहरू निराश हुनुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले मानव अधिकार र न्यायलय एकअर्काका परिपूरक भएपनि ढिलो गरी न्याय सम्पादन हुँदा पीडितले न्याय पाएको महसुस गर्न नभएको बताउनु भयो ।

अधिकारकर्मी तोया गिरीले जिल्लामा भएका मानव अधिकार उल्लङघन तथा ज्यादतीका घटना विवरण सङ्कलन, शिक्षा, स्वास्थ्य, विकास, पर्यावरण, विपद जोखिम र वातावरणमा देखिएका समस्या उठाएर समाधानका लागि सरोकारवालाहरुलाई सचेत र जिम्मेवार बनाउने प्रयास गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभयो ।  उहाँले देशमा रहेको संवैधानिक व्यवस्था, ऐन कानुन, नीति नियम र कार्यक्रमसँग जोडिएको सवाल मानव अधिकार र मौलिक हक भएकोले सरोकारवालाहरुले समाजमा हुने हिंसाजन्य ज्यादतीका घटनाहरु रोकथाम तथा नियन्त्रणका लागि अभियान चलाउन जोड दिनुभयो ।

कार्यक्रममा अधिकारकर्मी नेहा मण्डलले स्वास्थ्य अधिकार र अस्पातल तथा स्वास्थ्य संस्थामा निशुल्क औषधिको अभाव र बेड अभाव, सेवामा ढिलासुस्तीको सवालहरु समेत उठाउन इन्सेकलाई आग्रह गर्नुभयो ।

समीक्षा कार्यक्रममा हरिनगर गाउँपालिका-४ का दिक्षा मेहताले बालअधिकारका सवाल शैक्षिक गुणस्तरको कुराहरू समेत समावेश गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अरविन्द्रकुमार मेहता, मानव अधिकार सञ्जालका सदस्य विनिता दाहाल, रीशिता साह, अब्दुल्दाह अञ्सारी, पत्रकार मोहोसिम अञ्सारी, तजमुल हुसेन, नेपाल पत्रकार महासंघका सुनसरी सदस्य सुरेन्द्र मेहता, मोहमद बेचन, देवराज यादव, सुनिल विक्रम शर्मालगायतको सहभागिता रहेको थियो ।

Photo 20250630 sunsari (1)

Photo 20250630 sunsari (2)

Photo 20250630 sunsari (3)

अन्य

भिडियो