INSEC Online

📅 २०८३ जेष्ठ २१

गाउँघर मै मिलाउन खोजिएको बलात्कारको घटनाको मुद्दा प्रहरीले दर्ता गरायो

पीडित परिवारलाई दबावमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथिको सामूहिक बलात्कार घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरी मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

डीएसपी प्रकाश मल्लले घटनामा संलग्न एकजनालाई गिरफ्तार गरिसकिएको र फरार तीन जनाको खोजी कार्य जारी रहेको जानकारी दिए ।

सोनमा गाउँपालिका-२ स्थित तड्हारी गाउँको यो घटना माघ ४ गतेको हो । विपन्न परिवारकी १७ वर्षीया बालिका र १६ वर्षीया बालिकालाई सोनमा गाउँपालिका-८ का १८ वर्षीय अरूण महतो नुनिया, सोही ठाउँका २४ वर्षीय मनोज साह तेली, २० वर्षीय उपेन्द्र सदा मुसहर र १८ वर्षीय ओजिर मियाँ नदाफले बलात्कार गरेको आरोप छ ।

‘हाम्रो इज्जत लुटेपछि तीनैजनाले घटनाबारे कसैलाई न भन्न हामीलाई धम्क्याए’ माघ १९ गते आमाका साथ जिल्ला प्रहरी कार्यालय पुगेका पीडित बालिकाले बयानका क्रममा भने ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतका अनुसार रातिदेखि नै घटनालाई गाउँघरमै मिलाउन खोजिएको थाहा पाएर प्रहरीले हस्तक्षेप गरी भोलिपल्ट जलेश्वरस्थित जिल्ला प्रहरी कार्यालयमा पीडित बालिकाद्वयका अभिभावकले दिएको उजुरीले माघ १९ गते नै मुद्दा दर्ता गरेको छ ।

उनीहरूको मुद्दाका लागि गरिबीका कारण उनी जलेश्वर आउन मानेका थिएनन् । गाउँमै मिलाउन खोजेका थिए । प्रहरीले जाने-आउने र स्वास्थ्य परीक्षणको खर्च व्यहोरेपछि माघ १९ गते जलेश्वर पुगेका थिए ।

प्रहरीले यति तत्परता देखाए पनि पीडित परिवारको गरिबीको फाइदा उठाउँदै गाउँका केही बिचौलियाहरूले उतै मिलाउन दबाब दिएकोले प्रहरीलाई बयान र अुनसन्धानमा समस्या परेको छ ।

माघ २१ गते बयानका लागि बोलाइएकोमा पीडित परिवारले खर्च नभएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन नसकेको बताए ।

‘अब पीडितको घरमै पुगेर भए पनि बयानलगायतका कानुनी प्रकृया पूरा गर्ने सोचमा छौँ ।’-इन्स्पेक्टर बस्नेतले भने-‘तर, सामूहिक बलत्कारजस्तो जघन्य घटनामा पीडितलाई न्याय दिलाएरै छाड्ने प्रयासमा लागेका छौं ।’

अन्य

भिडियो