
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम समपन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले ०८२ असार १० गते आयोजित समीक्षा कार्यक्रममा सन २०२५ को ६ महिनाको जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा जिल्लामा ६२ वटा मानव अधिकार हननका घटनाहरू सङ्कलन गरिएको थियो । जसमा बालिका बलात्कारका आठ ओटा घटना, यौन दुर्व्यवहार एक, महिला बलात्कार १३, बहुविवाह एक लगायतका ६२ ओटा घटना भएको तथ्याङ्क प्रस्तुत गरिएको थियो । ६२ ओटा घटनामा तीन पुरुष ६५ महिला गरी ६८ जना पीडित भएको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिरहाका इन्स्पेक्टर आकाश उप्रेतीले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकबाट हामिले सिक्ने गरेको बताउनु भयो । मानव अधिकार रक्षाको लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेका हुन्छन् । मानव अधिकार संरक्षणको जिम्मा नेपाल प्रहरीले गरी नै रहेको छ । सबै सरोकारवालाको पनि जिम्मेबारी भएकोले सबैले पहल गर्न इन्स्पेक्टर आकाश उप्रेतीले आग्रह गर्नु भयो ।

गैर सरकारी संस्था महासंघ सिरहाका अध्यक्ष गोबिन्दराज विष्टले मानव अधिकारको क्षेत्रमा इन्सेकले सराहनीय भूमिका खेलेको बताउनु भयो । देश तथा विदेशीहरूका लागि मानव अधिकार श्रोत पुस्तिकाको रुपमा मानव अधिकार वर्ष पुस्तक रहेको उहाँले बताउनु भयो ।
मुत्ति नेपालकी अध्यक्ष देवकुमारी महराले इन्सेकले प्रकाशन गर्ने मानव अधिकार वर्ष पुस्तकले सबै खाले अधिकारहरूलाई समेटेर राम्रो गरेको बताउनु भयो । इन्सेक प्रतिनिधिले मात्र जिल्ला भरीको सबै तथ्याङ्क समेट्न नसक्ने भएकोले सबैले सूचनाको श्रोत भई सहयोग गर्नुपर्ने र सङ्कलित तथ्याङ्कहरूलाई न्यायको पहलसम्म पनि पुर्याउन सबैले सहयोग गर्नु पर्ने महराले बताउनु भयो ।
अधिकारकर्मी उमेश बिसुन्केले दलितहरूको मुद्दा, उठिबासका घटनाहरू पनि समेट्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा सञ्चारकर्मी अधिकारकर्मीहरूले सुझाब सहित मानव अधिकार वर्ष पुस्तक उपलब्ध गराउन आग्रह गर्नु भएको थियो ।