सन् २०२५ जनवरीदेखि सन् २०२५ जुनसम्ममा जिल्लामा संकलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम जिल्लास्थित सरोकारवालाहरुसँग ०८२ असार ७ गते सम्पन्न गरिएको छ । इन्सेक प्रतिनिधिहरुले जिल्लास्थित सरोकारवालाहरुसँग सम्पन्न अर्धवार्षिक समीक्षा कार्यक्रमसँग सम्बन्धित सूचनाहरु यस प्रकार छन् ।
इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ को प्रकाशन पूर्ब अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ७ गते सिलगढीमा सम्पन्न भएको छ ।
इन्सेक डोटी प्रतिनिधि सुबास नेपालीले सन् २०२५ जनवरीदेखि जुनसम्म संकलन गरेका मानव अधिकारसँग सम्बन्धित १७ ओटा घटनाहरु समीक्षा कार्यक्रममा प्रस्तुत गर्नुको साथै जिल्लाको आर्थिक ,सामाजिक तथा सास्कृतिक अधिकार तथा वातावरणीइ अधिकारका सवालमा छलफल गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय,डोटीका इन्स्पेक्टर राम चन्द जोशीले मानव अधिकारका सवालमा इन्सेकसँग समन्वय गर्ने गरिएको र विगतको तुलनामा जिल्लाको मानव अधिकारको अवस्थामा सुधारभएको बताउनु भयो ।
,जिल्ला कारागार, डोटीका प्रमुख लाल बहादुर बोगटीले जिल्ला कारागार,डोटीमा कैदीबन्दीहरुको आधारभूत अधिकारको प्रत्याभूती हुने गरी पहल भइरहेको भए पनि कारागार सुधारका कार्यहरु अझ काम गर्न बाँकी रहेको बताउनु भयो ।

जिल्ला मानव अधिकार सञ्जालका अध्यक्ष तथा संचारकर्मी नवराज जोशीले इन्सेकद्वारा प्रकाशन हुने मानव अधिकार वर्ष पुस्तकले मानव अधिकार हनन् तथा ज्यादतीबाट पीडितहरूको अधिकारका लागि ठूलो सहयोग पुगेको बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, डोटीका अध्यक्ष प्रकाश बम , दलित महिला संघ (फेडो),जिल्लास्थित संञ्चारकर्मी ,मानव अधिकारकर्मी र नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डडेल्धुराको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाशनपूर्व अर्धवार्षिक समीक्षा ०८२ असार ७ गते जिल्ला सदरमुकाम अमरगढी सम्पन्न भएको छ ।
इन्सेक डडेल्धुराका प्रतिनिधि शेरबहादुर भण्डारीले सन् २०२५ को जनवरीदेखि जुनसम्म संकलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरु प्रस्तुत गर्नुभएको थियो ।
जिल्ला घरेलु हिसांबाट २० जना बलात्कारबाट एक, महिला हिसांबाट दुई, बहुविवाहबाट दुई गरी २५ जना पीडितभएका र एक जनाको हत्याभएको तथ्यांक इन्सेक प्रतिनिधि भण्डारीले प्रस्तुत गर्नुभएको थियो ।
महिला अधिकारकर्मी हरेन्द्रा बमले जिल्लामा अझै पनि घरेलु हिंसा र लैंङगिक भेदभावका घटना बढिरहेको बताउनु भयो। उहाँले भन्नुभयो, ‘घटनाको न्यूनीकरणका लागि स्थानीय तह, प्रहरी, सामाजिक संघसंस्थाबीच थप समन्वय आवश्यक छ।’
जिल्ला प्रहरी कार्याल, डडेल्धुराका महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज जानकी जोशीले मानव अधिकार उल्लङ्घनका घटनाहरू दर्ता हुनेक्रम बढ्दो रहेको बताउनु भयो ।
खासगरी महिलामाथिको हिंसा र बालबालिकामाथि हुने दुव्र्यवहारका घटनामा समाज मौन रहने प्रवृत्तिले समस्या झन् जटिल बनाइरहेको उहाँले बताउनु भयो ।

उद्योग बाणिज्य संघ, डडेल्धुराका उपाध्यक्ष दिपक महताले दण्डहीनताको वातावरणले पीडितहरू अझ बढी पीडित बन्नुपरेको बताउनु भयो । कैलाली कारागारमा असार २ गते मृत फेला परेका भागेश्वरका हरिसिंह प्वालीको मृत्यु बारे इन्सेकले सुक्ष्म अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राज्यका निकायहरू जिम्मेवार बन्न नसकेसम्म पीडितलाई न्याय दिलाउने प्रक्रिया प्रभावकारी हुँदैन ।’
पत्रकार महासंघ डडेल्धुराका कोषाध्यक्ष भक्त गाहाले गाउँघरमा मानव अधिकार उल्लङ्घन भए पनि प्रहरी प्रशासनमा उजुरी कम आउने गरेको बताउनु भयो । वडास्तरदेखि नै मानव अधिकार उल्लङ्घनका घटना टिपोट गर्ने संयन्त्र विकास गर्नुपर्नेे उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डीएसपी सुगन्ध श्रेष्ठले मानव अधिकार उल्लङ्ंघनका घटनाहरू नहुन भनेर प्रहरी सदवै सचेतभएर काम गर्दै आएको बताउनु भयो ।
इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ प्रकाश पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम ०८२ असार ७ गते सम्पन्न भएको छ । दशरथचन्द नगरपालिकाको सभाहलमा आयोजिक कार्यक्रममा इन्सेक प्रतिनिधि नरी बडुले वर्ष पुस्तक २०२६ का लागि जनवरी २०२५ देखि हालसम्म संकलित घटना तथा जिल्लाको मानव अधिकारको पछिल्लो अवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा उपस्थित सरोकारवालाहरुले स्थानीय तहमा भएका न्यायिक समितिहरुलाई बलियो एवं प्रभावकारी बनाउनु पर्ने बताउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले स्थानीय न्यायिक समितिलाई प्रभावकारी बनाई ग्रामिण क्षेत्रमा हुने लंैङ्गिक तथा घरेलु हिंसाको न्याय निरुपणलाई व्यवस्थित बनाउनु पर्ने बताउनु भयो ।

दशरथचन्द नगरपालिका न्यायिक समितिका संयोजक एवं उपप्रमुख कौशीला चन्दले ग्रामिण क्षेत्रमा न्यायिक समितिको बारेमा अझै जानकारी प्रभावकारी रुपमा पुग्न नसकेको कुरा स्वीकार गर्दै आफूले गर्ने हरेक कार्यक्रममा न्यायिक समितिको काम कर्तव्यका बारेमा समेत जानकारी दिने गरेको बताउनु भयो ।
कार्यक्रममा महिला अधिकारकर्मी, दलित अधिकारकर्मी, जनप्रतिनिधि, कानून व्यवसायी, पत्रकार एवं अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।