सामूहिक बलात्कार घटनाकी पीडित सात वर्षीया बालिकाका परिवारलाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ असार २ गते १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित परिवारलाई आर्थिक सहयोग अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशमा गठित मानव अधिकार सहायता कक्ष मार्फत प्रदान गरिएको इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्माले बताउनु भयो । पीडित पक्षको आर्थिक अवस्था कमजोर रहेको र न्यायको लागि सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई सहायता प्रदान गरेको उहाँले बताउनु भयो ।
पीडित बालिकालाई दुई जना १५ वर्षीय बालकहरूले ०८१ चैत २२ गते घरबाट नजिकै तटबंधमा लगि सामूहिक बलात्कार गरेको पीडितका बुबाले बताउनु भयो । आरोपितद्वयविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा चैत २३ गते उजुरी दिनुभएको थियो ।
बालिकाका बुबाका अनुसार चैत २२ गते दिउँसो कामबाट खाना खान घर फर्किदै गर्दा आरोपितद्वयले एक जना बालिकालाई कपडाले मुख छोपेर लग्दै गरेको देखेको भए तापनि उनीहरूकै आफ्नो आफन्त कोही होला भनि बेवास्ता गरियो ।
तर, घर पुग्दा आफ्नी छोरीलाई नदेखेपछि मनमा चिसो पस्यो र खोज्दै जाँदा आरोपितहरूले घिसार्दै लगेको अरु कोही नभई आफ्नै छोरी रहेको पीडितका बुबाले बताउनु भयो । उहाँले भन्नु भयो छोरी निर्वस्त्र अवस्थामा रुँदै थिइन् ।
त्यसैगरी, घटनास्थलमै रहेका एक जना आरोपितलाई लौरोले हिर्काउँदा उनको खुट्टामा चोट लागेको थियो र अर्का आरोतिप त्यहाबाट भागेको पीडितका बुबाको भनाइ रहेको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल जलेश्वरमा चैत २२ गते भएको थियो ।
आरोपितहरूविरुद्ध महोत्तरीमा जिल्ला अदालत ०८२ वैशाख १४ गते मुद्दा दर्ता भएको थियो र वैशाख १५ गते एक जना आरोपितलाई बालकलाई सुधार गृह हेटौडा पठाइएको थियो । अर्का आरोपित बालकलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाएको इन्स्पेक्टर अशोक झाले जानकारी दिनु भयो ।