अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ जेठ ११ गते महिला हिंसा तथा बहुबिबाह घटनाका पीडित २३ वर्षीया कल्पना एरलाई न्यायिक प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको र न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्देश्यले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीले सुरक्षीत अल्पकालीन सेवा केन्द्रकी प्रतिनिधि बिष्णा कठायतको रोहवरमा पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेकका संयोजक खड्कराज जोशीले बताउनु भयो ।
पीडित महिला र सायल गाउँपालिका–१ छपालीका राम रोकाय बीच ०७६ फागुन १४ गते सामाजिक परम्परा अनुसार विवाह भएका थियो । विवाहपश्चात पीडित र आरोपित केही महिनासँगै बसे पनि केही महिनापछि आरोपित पतिले मानसिक यातना दिने ,कुटपिट गर्ने जस्ता क्रियाकलाप गर्दै आएको र दोस्रो विवाह गरी फरार रहेको पीडितको भनाइ छ ।
जिल्ला अदालत, डोटीमा ०८१ जेठ २१ गते महिला हिंसा र बहुविवाह मुद्दा दर्ता गराएकोमा ०८१ माघ १० गते जिल्ला अदालतले महिला हिंसा मुद्दामा फैसला गरेको भए पनि बहुविवाह मुद्दा चालु अवस्थामा रहेको पीडित महिलाले बताउनु भयो ।
पीडित महिलाको आर्थिक अवस्था कमजोर रहेको र जिल्ला अदालत, डोटीमा मुद्दा चालु अवस्थामा रहेकाले आर्थिक सहयोगका लागि पहल गरीदिन पीडितले इन्सेक डोटी जिल्ला प्रतिनिधि मार्फत निवेदन दिनुभएको थियो ।
आर्थिक अभावका कारण पीडितले न्याय पाउनबाट वञ्चि हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्ने उद्देश्यले इन्सेकले पीडितलाई आर्थिक सहयोग प्रदान गरेको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।