बलात्कार घटनाकी पीडित १६ वर्षीया बालिकालाई डिसीएको आर्थिक सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशले ०८२ वैशाख १६ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्ष मार्फत पीडित परिवारलाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले बताउनु भयो ।
पीडित पक्षको आर्थिक अवस्था कमजोर रहेको र न्यायको लागि सहयोग पुग्ने उद्देश्यले पीडित परिवारलाई सहायता प्रदान गरेको उहाँले बताउनु भयो ।
पीडित परीवारले इन्सेक महोत्तरी प्रतिनिधि ममता विश्वकर्मा मार्फत इन्सेक मधेस प्रदेश कार्यालय, जनकपुरधाममा ०८२ वैशाख १० गते निवेदन दिनुभएको थियो ।
पीडित बालिकालाई औरहि नगरपालिका-९ भवानिगञ्जका २८ वर्षीय रोशन महतोले ०८१ फागुन २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा चैत ६ गते उजुरी दिनुभएको थियो । घटनापश्चात आरोपित महतो फरार रहेकोले खोजतलास गरिरहेको इन्स्पेक्टर अशोक झाले बताउनु भयो ।