अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा प्रदेशस्तरीय वातावरणीय मानव अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रम ०८१ वैशाख ११ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले नागरिकहरुको वातावरणीय अधिकारलाई सुनिश्चित गर्न इन्सेक लगायतका संघसंस्थाहरुले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशमा पिआइएल दर्ता गरी कानुनी प्रकृयामा रहेको जानकारी गराउँदै वातावरण संरक्षणको सवालमा नागरिक समाजले साँझा बुझाई गरेर राज्यलाई दवाव दिन आवश्यक रहेको बताउनु भयो ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले मानव अधिकार र वातावणरीय अधिकारको क्षेत्रमा अनुगमन र अभिलेखिकरण महत्वपुर्ण रहेकाले संवैधानिक कानुनी व्यवस्था अनुसार सत्यतथ्य प्रमाण पुग्ने र पुष्ट्याई हुने गरी प्रतिवेदन तयारी गर्न आवश्यक रहेको बताउनु भयो ।

डिसिए परियोजना नेपालगञ्जका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले वातावरणीय मानव अधिकार रक्षकहरुले वातावरण संरक्षणका लागि वकालत तथा पैरवी गरी नीतिनिर्माण गर्नका लागि राज्यलाई दवाव दिन आवश्यक रहेको बताउनु भयो ।
मानव अधिकार अभियान्ता सचितानन्द जोशीले शहरी बिकाससँगै प्लाष्टिक जन्यफोहोर व्यवस्थापन तथा सामुदायिक सरसफाई, फोहोरको पुनःप्रयोग आदिका बारेमा छलफल गराउनु भयो ।

प्रदेशस्तरीय वातावरणरीय मानव अधिकारकर्मीहरुको क्षमता अभिवृद्धि कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, मानव अधिकारकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
