अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजना र डिसिएका अर्थिक सहयोगमा मानव अधिकार सहायता कक्षको बैठक ०८१ फागुन २९ गते जनकपुरधाममा सम्पन्न भएको छ ।
बैठकमा इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नु हुँदै मानव अधिकार उल्लङ्घन तथा जयादतीका घटनामा पीडित भएका आर्थिक रुपले विपन्न व्यक्तिलाई डिसिएको आर्थिक सहयोगमा उपचार र न्याय प्रक्रियामा जान प्रति पीडित १० हजार रुपियाँ आर्थिक सहयोग गर्ने गरिएको बताउनु भयो ।
हिंसामा परेका पीडितहरूलाई आर्थिक सहयोग गर्न स्थानीय तह, प्रहरी, मानव अधिकारकर्मी र मानव अधिकारका क्षेत्रमा क्रियाशिल संघ संस्थाहरूले समेत सिफारिश गर्ने गरेको र सिफारिशको आधारमा पीडितलाई आर्थिक सहयोग गर्ने गरिएको उहाँले जानकारी दिनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले पीडितलाई आर्थिक सहयोगले न्याय प्रक्रियामा जान सहज भएको बताउनु भयो । हिंसामा प्रभावित पीडितहरूका लागि स्थानीय तह लगायतका निकायमा समेत आर्थिक सहयोग गर्ने व्यवस्था रहेकोले त्यसको प्रभावकारी कार्यान्वयनको सन्दर्भमा अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।
बालअधिकार परिषद्का प्रदेश अध्यक्ष संजिव महतोले हामीसँग पनि १८ वर्ष उमेर मुनिका हिंसा प्रभावित बालबालिकाहरुका लागि २ हजार रुपियाँ आर्थिक सहयोग गर्ने कोष रहेको बताउनु भयो । इन्सेक र परिषद्ले समन्वय गरेर त्यस्ता हिंसा प्रभावितलाई आर्थिक सहयोग र न्यायका लागि पहल गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
मानव अधिकारकर्मी तथा मानव अधिकार सहायता कक्षका सदस्य अर्जुन साहले सहायता कक्षबाट दिएको आर्थिक सहयोगले पीडितको उपचार र न्याय प्रक्रियामा मद्दत मिलेको बताउनु भयो ।
बैठकमा इन्सेक मधेस प्रदेश प्रलेख अधिकृत मोहन चौधरीले गत वर्ष अर्थात सन् २०२४ मा २६ जना पीडितलाई आर्थिक सहयोग गरिएको र सन् २०२५ को हालसम्म पाँच जना पीडितलाई आर्थिक सहयोग गरिएको जानकारी दिनु भयो ।
मानव अधिकार सहायता कक्षका अध्यक्ष तथा एडभोकेसी फोरमका प्रदेश संयोजक राजकुमार महासेठको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राहुल ठाकुर, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० की वडा सचिव जमुना भुजेल, माइती नेपालका पुरुषोत्तम यादव, मानव अधिकारका लागि एकल महिला समूहकी धनुषा अध्यक्ष सुभद्रा आले र शान्ति पुर्नस्थापना केन्द्रकी रिता यादव लगायतको उपस्थिति रहेको थियो ।