अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र महिला पुनर्स्थापना केन्द्र (ओरेक) कोशी प्रदेश कार्यालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते विराटनगरमा कविता बाचन कार्यक्रम सम्पन्न गरेको छ ।
“सबै महिला तथा बालबालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” नाराका साथ मनाइएको ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विराटनगरस्थित महेन्द्र चोकमा अधिकारकर्मीसँगै १८ जना स्रष्टाहरूले एउटै मञ्चमा कविता वाचन गरे ।

अधिकार, समानता र सशक्तीकरणको अर्थ खाज्दै साहित्यकारहरू खेम नेपाली, रोहिणी रसिक, भवानीप्रसाद पोखरेल, हरी कट्टेल, प्रयाग न्यौपाने, शुभलक्ष्मी लम्साल, शोभा बजगाई, पुष्पा सायरा, मञ्जु घिमिरे दाहाल, शारदा कार्की, सुजाता राई, ऋषि तिवारी, भुपाल अधिकारी, निर्मला नेपाल, नानुमैया दाहाल, गीता पोखरेल, ब्युटी श्रेष्ठ, रिता खडकालगायतले कविता वाचन गर्नुभयो ।
महिला हिंसा, वेथिती, विभेद र असमानताविरुद्ध वाचन गरिएका कविताहरूमा नारी अस्तित्वको पहिचान गर्न, अवसर, पहुँच, पहिचान र हैसियतको प्रयोगमा बराबरीको हिस्सा दिन आग्रह गरिएको थियो । पुरुषवादी सोचका कारण जानी-नजानी महिला हिंसामा पर्नुपरेको चित्रण गर्दै कविहरूले आमा, दिदी, बहिनी असुरक्षित भइरहेकोमा चिन्ता प्रकट गरे ।
कतिपय कवितामा विरताको प्रतिक महिलालाई गर्ने प्रेम र सद्भावको अनुभूति पनि छरिएको थियो भने केही कवितामा महिलाको पीडामा पुरुष पनि सम्वेदशील छन् भन्ने भाव थियो । वाचित कविताहरू महिला हिंसा न्यूनीकरण गर्ने किसिमको रहेको र कविताहरू पुरुषविरोधी नभई पुरुषवादविरोधी भएकोमा दर्शकहरूले प्रशंसा गरे । साहित्यकार मधु पोखरेलले साहित्यले समाजमा रचनात्मक ढंगले विचार प्रवाह गर्न सघाउने भन्दै सडकमा आयोजित कविता वाचन प्रभावकारी रहेको उल्लेख गर्नुभयो । महिलालाई प्रकृति विम्ब बनाएर लेखिएका कविताहरूले धेरै श्रोताहरूको मन छोएको रुशा भण्डारीले बताउनु भयो ।
कार्यक्रमको उद्देश्य बताउनु हुँदै इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले साहित्यका माध्यमले विभेदपूर्ण दृष्टिकोणलाई फरक मोडमा पुर्याउन र साहित्यकारको योगदानबाट महिला सशक्तीकरणको अभियानलाई थप सशक्त बनाउन कविता वाचन कार्यक्रम राखिएको बताउनु भयो । कार्यक्रममा ओरेकका कोशी प्रदेश संयोजक शोभा बजगाईले स्वागत गर्नुभएको थियो ।
विराटनगरमा विहान संयुक्त रुपमा प्रभात फेरी र दिउँसो सामाजिक विकास मन्त्रालय कोशी प्रदेशद्वारा “महिला सशक्तीकरण : सम्भावना र अवसर” विषयक प्यानल छलफल तथा साँझ एकल महिला समूहद्वारा दिप प्रज्वलन कार्यक्रम गरिएको छ ।


खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा इन्सेकसहित विभिन्न १५ ओटा संघसंस्थाको आयोजनामा ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ । संविधानसभा सदस्य दुर्गाजयन्ती राईले अझै पनि महिला र पुरुषबिचको विभेद कायम भएकाले त्यसको न्यूनीकरणका लागि साझा अभियानहरु महत्वपूर्ण हुने बताउनु भयो । प्रभातफेरी र्यालीसहित सामूहिक नृत्य प्रतियोगिता गरी ११५औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

