INSEC Online

📅 २०८३ जेष्ठ २१

गण्डकीमा मानव अधिकार समूह परिचालन बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा प्रदेशस्तरीय मानव अधिकार समूह परिचालन बैठक फागुन ४ गते सम्पन्न भएको छ । बैठकमा समूहको कार्यप्रगति समीक्षा गर्दै आगामी योजनाका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा मानव अधिकार समूह माछापुच्छ्रे मानव अधिकार समूह, मादी गाउँपालिका र मानव अधिकार समूह नवलपुरका जिल्ला सहजकर्तासहितको टोलीको उपस्थिति रहेको थियो । कार्यक्रममा मादी गाउँपालिका मानव अधिकार समूहका सचिव ऋषिराम सापकोटाले भौगोलिक विकटताका कारण कतिपय काम गर्न कठिन भएको बताउनु भयो । उहाँले गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू बारम्बार परिवर्तन भइरहँदा काम गर्न झनै असहज भएको उल्लेख गर्नु भयो ।

माछापुच्छ्रे मानव अधिकार समूहका अध्यक्ष कुलप्रसाद अधिकारीले गाउँपालिकामा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी दिनु भयो । उहाँले समूह दर्ता, गुणस्तरीय शिक्षाका लागि अभियान, जुम मिटिङमार्फत बैठक सञ्चालन तथा १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान प्रभावकारी रूपमा अगाडि बढाइएको बताउनु भयो ।

देवचुली नगरपालिका मानव अधिकार समूहका अध्यक्ष तथा सञ्जालका सचिव कृष्णबहादुर बिकले हिउँदे नगर सभामा विभिन्न मागहरू पेश गरिएको जानकारी गराउनु भयो । मध्यविन्दु नगरपालिका मानव अधिकार समूहले विद्यालय अनुगमनका साथै नगरपालिकामा दुई पटक समन्वय बैठक आयोजना गरेको जानकारी गराउँदै उहाँले कतिपय विद्यालयमा बालबालिकाको खाजा खर्च कटौती गरेर शिक्षकलाई राहत कोटामा राखिएको पाइएको बताउनु भयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले गण्डकी प्रदेशका मानव अधिकार समूहहरूले लक्षित वर्ग, महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित तथा विपन्न समुदायका अधिकार संरक्षणका लागि सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले स्थानीय सरकारका नीति, कार्यक्रम र बजेटमा मानव अधिकारमैत्री बनाउन भूमिका निर्वाह गर्न सजकर्तालाई निर्देशन दिनुभएको हो ।

कार्यक्रममा नवलपुरका जिल्ला सहजकर्ता राजु चपागाईं र कास्की जिल्ला सहजकर्ता शुष्मा आचार्यले कार्यप्रगति समीक्षा तथा आगामी योजना प्रस्तुत गर्नुभएको थियो । वार्षिक योजनाअनुसार काम अघि बढिरहेको र चालु आर्थिक वर्षभित्र सबै कार्यहरू पूरा गरिने जानकारी गराइएको थियो ।

अन्य

भिडियो