बागमती प्रदेशको राजधानी हेटौंडामा मानव अधिकार अवस्था विषयक मिडिया साझेदारी बैठक सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेशको आयोजनामा पुस १६ गते उक्त बैठकको आयोजना गरिएको हो ।
बैठकको उद्देश्यमाथि प्रकाश पार्दै इन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले त्रकार अग्रपङ्क्तिको मानव अधिकार रक्षक भएकोले मानव अधिकारको संरक्षणमा पत्रकारहरूको अग्रणी भूमिका रहनु आवश्यक भएको बताउनु भयो । संयोजक भण्डारीले स्थानीय नागरिकको शिक्षाऽ स्वास्थ्य खाद्य र वातावरणीय अधिकारलाई सञ्चार माध्यमले प्रकाशन तथा प्रसारण गरेको नागरिकको अधिकार सम्बन्धित निकाय तथा सरकारसमक्ष सम्म पुग्ने बताउनु भयो ।

उहाँले राज्यको चौथो अङ्कको रूपमा कार्यरत पत्रकारले समाजका विकृति विसङ्गतिलाई उजागर गर्दै राज्यलाई सुशासनमा ल्याउन ठूलो मद्दत गरेको बताउँदै संयोजक भण्डारीले संविधान प्रदत्त मौलिक अधिकार जनताले उपयोग गर्न पाए नपाएको विषयमा सञ्चारमाध्यमले उजागार गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घ बागमतीका अध्यक्ष कृष्ण सारु मगरले मानव अधिकार उल्लङ्घनका घटनामा बागमती प्रदेश उच्च रहेको इन्सेक प्रतिवेदनमा उल्लेख भएको बताउँदै यस्ता घटना न्यूनीकरणको लागि मिडिया सधैँ साथसाथ रहेको बताउनु भयो ।

यसैगरी नेपाल पत्रकार महासंघ बागमती प्रदेश कमिटीका संस्थापक अध्यक्ष प्रताप विष्टले इन्सेकले सशस्त्र द्वन्द्वको समयमा नागरिक तथा राजनीतिक अधिकार प्राप्त गर्न र नागरिकको ज्यानको रक्षा गर्न पुर्याएको योगदानको स्मरण गर्दै अब जनताको स्तर उकास्न आर्थिक समाजिक तथा साँस्कृतिक अधिकार प्राप्तिका लागि मानव अधिकार सँगसँगै पत्रकारको पनि सहयोग भूमिका हुने बताउनु भयो ।
नेपाल पत्रकार महासङ्घ मकवानपुरको सहकार्यमा बसेको बैठकमा सहभागी सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालले अहिलेको अवस्थमा जतिपनि जघन्य अपराधहरु छन् ती सबै घटनामा प्राय जसो बालबालिकाकै संलग्नता रहेको बताउनु भएको छ ।
देशभर आठ ओटा बाल सुधार गृह रहेको जानकारी गराउँदै उहाँले सबै बाल सुधार गृहमा रहेका बालबालिकाहरु आफैँ पीडित रहेको पाइएको बताउनु भयो ।
पत्रकार सुरेश श्रेष्ठले जिल्लामा अप्रत्यक्ष रूपमा मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनाहरू बढ्दै आएकोप्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले पत्रकारहरूलाई समयसमयमा प्रहरी प्रशासनबाटै विभिन्न किसमका धम्कीहरू आउने गरेका कारण पत्रकारिता पेसामा सुरक्षा चुनौती रहेको उल्लेख गर्नु भयो ।
जिल्ला बार एशोसियसन मकवानपुरकी अध्यक्ष अप्सरा बस्नेतले बाल अपराध बढ्नुको मुख्य कारण सम्बन्ध विच्छेद पनि रहेको औँल्याउनु भयो । उहाँले बाबु–आमा छुट्टिएर बस्दा बालबालिकाको मस्तिष्कमा नकारात्मक असर पर्ने बताउँदै अभिभावककै कारण पनि बालबालिका आपराधिक क्रियाकलापमा संलग्न हुने क्रम बढ्दो रहेको भन्दै चिन्ता व्यक्त गर्नु भयो ।
नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले राज्यले मानव अधिकारका विषय संविधानबाटै सुनिश्चित गरेपनि कार्यान्वयनमा भने कमजोर रहेको बताउनु भयो । नीति कार्यान्वयनको लागि सङ्घसंस्था र मीडियाको भूमिका महत्त्वपूर्ण हुने बताउँदै उहाँले सरोकारवालाको संयुक्त प्रयास हुनुपर्नेमा जोड दिनु भयो ।