INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तकर २०२५ का लागि संकलन गरिएका घटनाहरुको अद्यावधिक तथा पुनर्पुष्टि गर्नका लागि इन्सेक जिल्ला प्रतिनिधिहरुको जिल्लास्थिति बिभन्न सरोकारवालाहरुको सहभागितामा ०८१ पुस ७ गते वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गनुभएको छ ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुलाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक सन् २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ०८१ पुस ८ गते जिल्ला सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख महादेब बडू (कस्यप) को प्रमुख आतिथ्य तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको विशिष्ट आतिथ्यमा पूर्व समीक्षा सम्पन्न भएको हो ।

जिल्लामा सन २०२४ जनवरीदेखि डिसेम्बर महिनासम्म सङ्कलन गरिएका मानव अधिकार उल्लंघन र ज्यादतीका गरी ६६ ओटा घटना सङ्कलन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिह कार्कीले जानकारी दिनुभयो ।

photo29241222darchula (2)

जसमा बलात्कार तथा बलात्कार प्रयासका नौ ओटा, घरेलु हिंसाका ५२ ओटा, हत्या, हत्या प्रयासका तीन तथा अमानवीय व्यवहारका दुई ओटा घट्ना संकलन गरिएको छ । यो वर्ष आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, वातावरण तथा स्वास्थ्यको अधिकारलाई प्राथमिकता राखेर जिल्लाको मानव अधिकारको अवस्था संकलन गरिएको इन्सेक प्रतिनिधि कार्कीले बताउनु भयो ।

जिल्ला समन्वय समितिका प्रमुख महादेव बडू (कस्यप) ले इन्सेकले जिल्लाभरिको तथ्याङ्क उजागर गरेर राज्यलाई जवाफदेहि बनाउने काम गरेको बताउनु भयो । उहाँले भन्नुभयो, जिल्लामा एक्लै भए पनि इन्सेकले हरेक वर्ष पुस्तक प्रकाशन गरेर सरोकारवालाई घच्घच्याउने काम गरेको छ । यो प्रंशसनीय कार्य हो ।

photo29241222darchula (1)

प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले राज्यले गर्नु पर्ने काम इन्सेकले गरेकोमा धन्यवाद दिनुभयो । मानव अधिकारकर्मीले उठान गरेका विषयबस्तुले कर्मचारी तथा नीतिनिर्मातालाई सहयोग पु¥याएको उहाँले बताउनु भयो ।

शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयराज पन्तले जिल्लामा झण्डै अढाई प्रतिशत बालबालिका विद्यालयबाहिर रहेको उल्लेख गर्दै यसको खोजबिनमा सहयोग गर्नुपर्ने बताउनु भयो । यो कार्य राज्यको हो, तर अहिलेसम्म शिक्षा क्षेत्रको यो तथ्याङ्कमा कमी आउन सकेको छैन् । यसमा इन्सेक लगायतका संघसंस्थाले भूमिका खेलेर सहयोग गर्नु पर्ने उहाँको भनाइ छ ।

photo29241222darchula (5)

पत्रकार कमलराज जोशीले प्रजनन् स्वास्थ्य, नवजात शिशु मृत्युदर, मातृमृत्युदरका समग्र पक्षलाई वर्ष पुस्तकमा समेट्न सुझाव दिनुभयो । पत्रकार महासंघका निवर्तमान अध्यक्ष कृष्णसिह धामीले मालिकार्जुन गाउँपालिकामा देखिएको बालश्रम र बालविवाहका समस्या तथ्यांकमा ल्याउन सुझाव दिनु भयो ।

इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीका अनुसार नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न भएको छ । इन्सेक डडेल्धुराको आयोजनामा ०८१ पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व समीक्षा कार्यक्रम सम्पन्न गरिएको हो ।

इन्सेक डडेल्धुरा प्रतिनिधि शेरबहादुर भण्डारीले जिल्लामा एक वर्षको अवधिमा इन्सेकले अभिलेख गरेका ४८ ओटा घटना सार्वजनिक गर्नुभएको थियो । उहाँले एक वर्षमा संकलन गरेका घटनाहरूको सार्वजनिकीकरण र जिल्लाको समग्र मानव अधिकारको अवस्था प्रस्तुत गर्नुभएको थियो ।

photo20241222dadeldhur (1)

सन् २०२४ जनवरीदेखि डिसेम्बरसम्म बलात्कार र यौन दुव्र्यवहारबाट दुई जना बालिका र दुई महिला गरी चार जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ । अभद्र व्यवहार तथा हातपातबाट दुई, बहुविवाहबाट तीन र घरेलु र महिला हिंसाबाट ४२ जना पीडित भएका छन् ।

महिला अधिकारकर्मी पदमा भण्डारीले हिंसामा परेका ग्रामिण भेगका महिलाहरु अझै न्यायका लागि खुलेर बाहिर आउन नसकेको बताउनु भयो । ‘इन्सेकको अभिलेख हेर्ने हो भने पनि ग्रामीण भेगका घटनाहरु कम छन् । अझै ग्रामीण भेगका पनि विकट ठाउँका घटनाहरु कम छन् । ती ठाउँहरुमा सचेतनामूलक कार्यक्रम गर्न जरुरी छ,’ उहाँले भन्नुभयो ।

वर्ष पुस्तकले घटना अभिलेखिकरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै कार्यक्रमका सहभागीले प्रशंसा गरेका थिए । जिल्ला प्रशासन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्र रोकायाले इन्सेकले उठाएका सवालहरुमा सरोकारवाला सबैले एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । इन्सेकले मानव अधिकार हनन् र ज्यादतिका घटना अभिलेख गरेर राज्यलाई सहयोग पुर्याउँदै आएको उहाँले बताउनुभयो । पत्रकार राम धामीले नागरिक, राजनीतिक, सामाजिक र सांस्कृतिक अधिकारसँगै वातावरणको सवाललाई पनि प्राथमिकतामा राखिनु पर्ने बताउनु भयो ।

photo20241222dadeldhur (2)

भित्री मधेशका नागरिक हरेक वर्ष बाढीपहिरोको बितण्डामा पर्ने गरेको बताउँदै यी विषयबस्तुमा राज्यलाई जबाफदेही बनाउन इन्सेकलगायतका संघसंस्था र सञ्चारकर्मीले आवाज उठाउनु पर्ने उहाँले बताउनु भयो ।

नेकपा एकीकृत समाजवादी, डडेल्धुराका सचिवालय सदस्य डम्बर साउदले इन्सेकसँगै राजनीतिक दल पनि मानव अधिकारका सवालमा हातेमालो गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाउनु भयो । मानव अधिकार हनन् र ज्यादतीका घटना निराकरणका लागि गाउँघरमै गएर कार्यक्रम गर्न उहाँले सुझाव दिनु भयो ।

अधिवक्ता बिष्णु भट्टले डडेल्धुरा अदालतमा सम्बन्धबिच्छेदका घटनाहरु धेरै आउने गरेको बताउँदै सम्बन्धबिच्छेदपछि ती दम्पत्तिका छोराछोरीको अवस्था दयनीय भइरहेकोले यी घटनाहरुलाई पनि वर्ष पुस्तकमा समेट्न आग्रह गर्नु भयो ।

अन्य

भिडियो