नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि कास्कीमा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ६ गते पोखरामा सम्पन्न भएको छ ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सञ्जय रानाभाटले ०८० पुस १७ गतेदेखि ०८१ मङ्सिर ३० गतेसम्म सङ्कलित घटना प्रस्तुत गर्नु भएको छ । रानाभाटले यो अवधिमा १ सय ४४ ओटा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना अभिलेख गरिएको जानकारी दिनु भयो । जसमा बाल अधिकार अन्तर्गत २४ ओटा घटना छन् । ती मध्ये बलात्कारका १६, यौन दुर्व्यवहारका पाँच, बेचबिखनका दुई ओटा रहेका छन् ।
अमानवीय व्यवहार तथा दुर्व्यवहारका १६, कुटपिटका १८ र हत्याका दुई ओटा घटना छन् । महिला अधिकारसम्बन्धी घटनामा घरेलु हिंसाका ७६, बलात्कारका तीन, बहुविवाहका तीन र बेचबिखनका दुई ओटा घटना इन्सेकले अभिलेख गरिएको रानाभाटले बताउनु भयो ।

प्रकाशन पूर्व समीक्षा कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले मानव अधिकारसँग जोडिएका घटनाहरू न्यूनीकरण गर्न सबैले पहल गर्नुपर्ने बताउनु भयो । सबैले आफ्नो ठाउँबाट जनचेतना तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा बरालले जोड दिनु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्तकुमार शर्माले आफूहरुले मानव अधिकारमैत्री भएर सेवा सञ्चालन गरेको बताउनु भयो । इन्सेक गण्डकी प्रदेश कार्यालयका संयोजक शिवप्रसाद खकुरेलले इन्सेकले सङ्कलन गरेका घटनाको पुष्टी गर्नका लागि यो कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाँले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना छुटेका भए टिपाइदिन अनुरोध समेत गर्नु भएको छ ।