अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले पुस ४ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि सङ्कलित घटनाको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति भक्तपुरको हलमा भएको कार्यक्रममा इन्सेक भक्तपुर जिल्ला प्रतिनिधि जमुना भट्टराईले सन् २०२४ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका घटनाका बारेमा जानकारी गराउनु भएको छ ।

जिल्लामा जम्मा १ सय २२ ओटा मानव अधिकार उलङ्घन तथा ज्यादतीका घटना इन्सेकले अभिलेख गरेको भट्टराईले बताउनु भयो । जसमा महिला अधिकारसँग सम्बन्धित ७५ ओटा र बाल अधिकारसँग सम्बन्धित ४१ ओटा रहेका छन् । त्यसैगरी हत्याका पाँच ओटा घटना सङ्कलन गरिएको जिल्ला प्रतिनिधि भट्टराईले जानकारी दिनु भयो ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले मानव अधिकार क्षेत्र बृहत् रहेको बताउँदै इन्सेकले लामो समयदेखि मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाका तथ्यतथ्याङ्क अभिलेख गर्दै आएको बताउनु भयो । ‘मानव अधिकार संरक्षणमा प्रमुख जिम्मेवार पक्ष राज्य हो । सरकार हो ।’-प्रजिअ अर्यालले भन्नु भयो-‘तर यो क्षेत्रमा मिडिया र सामाजिक संस्थाहरुले पनि योगदान गर्दै आएका छन् ।’
कार्यक्रममा महिला सुरक्षा दबाब समूह भक्तपुरकी उर्मिला केसीले बालिकाहरूमा यौन हिंसा र महिलाहरूमा घरेलु हिंसाका घटनाहरू बढेकोप्रति चिन्ता व्यक्त गर्नु भयो । यसप्रकारका घटना न्युनिकरण गर्न विभिन्न सङ्घसंस्था सक्रिय रहेपनि तथा चेतनाका कार्यक्रमहरु गरिएपनि अभियानकर्ताहरुलाई थप चुनौती रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी ढुण्डीराज न्यौपानेले इन्सेकले मानव अधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । मानव अधिकार संरक्षणमा सधै संवेदनशील भएर प्रहरीले जिम्मेवारी निर्वाह गर्दै आएको पनि एसपी न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यलय, जिल्ला समन्वय समिति, एकल महिला समूह, महिला सुरक्षा दबाब समूह, महिलाहरूको मानव अधिकार रक्षक सञ्जाल, महिला जागरण तथा विकास केन्द्रलगायतका सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।