अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक अन्तरक्रिय कार्यक्रम ०८१ पुस ४ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले मानव अधिकार सहायता कक्ष मार्फत विभिन्न हिंसाहरुको न्यायमा पहुँच पुर्याउने उद्देश्यले कानुनी प्रकृयामा सहयोग गर्न सम्बन्धित वडा कार्यालयको सिफारिस तथा पीडितको निवेदन र अन्य कागजातको आधारमा सहयोग गर्दै आइरहेको बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगले गैरसरकारी संघसंस्थाहरुको अभिभावकको भूमिका निभाउनु पर्ने बताउँदै मानव अधिकार सहायता कक्षमा राष्ट्रिय मानव अधिकार आयोग केन्द्रीय कार्यालयको परिपत्र अनुसार एक जना फोकल पर्सन राखिएको समेत उहाँले बताउनु भयो ।

गैरसरकारी संस्था महासंघका अध्यक्ष तथा मानव अधिकार सहायता कक्षका अध्यक्ष देवी खनालले मानव अधिकार सहायता कक्ष मार्फत कथित बोक्सी, घरेलु हिंसा र यौन हिंसाका बिभिन्न १६ जना पीडितलाई सहयोग गरेको बताउँदै सहयोगका लागि गरिएको खर्च रकम अनुमोदन गरिएको बताउनु भयो ।
मुक्त कमैया महिला विकास मंचकी फोकल पर्सन कौशिला चौधरीले मुक्त कमैया हलिया र मुक्त कम्लहरीहरुको पु्नर्स्थापनाका लागि राज्यले वेवास्ता गरिरहेको अवस्थामा सबै गैरसरकारी संघसंस्थाहरु एकजुट भएर राज्यलाई दबाब दिन आवश्यक रहेको बताउनु भयो ।