INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण सम्पन्न

सुनवर्षी नगरपालिकामा बाल विवाहसम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रम मङ्सिर १९ गते सम्पन्न भएको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरद्वारा गठित मानव अधिकार समूह सुनवर्षीको आयोजनामा बालविवाह सम्बन्धी सचेतनामुलक अभिमुखीकरण कार्यक्रममा सुनवर्षी नगरपालिकाको सभाहलमा सम्पन्न भएको हो ।

कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक विद्यालयका छात्राहरू, इन्सेकद्वारा गठित बाल अधिकार चेतना समूह वीरेन्द्र मावि अमरदह, आदर्श मावि डाँयनियालगायतका विद्यार्थीहरूको सक्रिय सहभागिता थियो ।

बालिकाहरूमा बाल विवाहका कानूनी, सामाजिक र व्यक्तिगत असरबारे जानकारी दिनु तथा उनीहरूको हकअधिकारप्रति सचेत गराउनु कार्यक्रमको उद्देश्य रहेको मानवअधिकार समुह सुनवर्षीका अध्यक्ष लक्ष्मण बुढाथोकीले बताउनु भयो ।

कार्यक्रममा सुनवर्षी नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख अरूणा कार्कीले बाल विवाह तथा बालबालिकासम्बन्धी मुद्दाहरूमा नगरपालिकाको भूमिका र चासोबारे आफ्ना विचार राख्नुभयो । उहाँले भन्नुभयो, “महिला र बालबालिकाका सवालमा नगरपालिकाले सदैव संवेदनशीलता देखाउँदै आएको छ । यस्ता अभिमुखीकरण कार्यक्रमले बालबालिकामा अधिकार र जिम्मेवारीप्रति सचेतना वृद्धि गर्ने भएकाले स्थानीय सरकारले यसलाई निरन्तरता दिनुपर्नेछ।” इन्सेकजस्ता संस्थासँग समन्वय गरेर काम गर्दा प्रभावकारी परिणाम आउने कुरामा जोड दिनु भयो ।

उहाँले नगरपालिकाको बालबालिका शाखा यस्ता कार्यक्रमलाई थप सशक्त बनाउन प्रतिबद्ध रहेको बताउनु भयो । कार्यक्रममा सहभागी विद्यार्थीहरूले विद्यालयमा शिक्षामा पहुँच, महिला स्वास्थ्यसम्बन्धी जानकारीको अभाव र सामाजिक कुरीतिहरूको असरबारे आफ्नो अनुभव र धारणा राखेका थिए । उनीहरूले विद्यालयस्तरमै महिला सशक्तीकरण र बाल विवाहजस्ता कुरीतिहरूविरुद्ध जागरूकता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्न इन्सेकसँग माग गरेका छन् ।

सहभागी विद्यार्थीहरूको विचार सुनेपछि महिला तथा बालबालिका शाखा प्रमुख कार्कीले विद्यार्थीहरूले उठाएका समस्या समाधानका लागि नगरपालिकाले योजनाबद्ध कार्य अघि बढाउने प्रतिवद्धता जनाउनु भएको छ ।

Photo 202401205 Morang (1)

Photo 202401205 Morang (2)

अन्य

भिडियो