सरकारका संयन्त्र प्रभावकारी नहुँदा मानव अधिकार कुण्ठित भएको गुल्मीका सरोकारवालाले गुनासो गरेका छन् । ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलको आयोजना र इन्सेकको समन्वयमा आयोजित कार्यक्रममा बोल्ने बक्ताहरूले त्यस्तो गुनासो गरेका हुन् ।

नागरिक समाज गुल्मीका संयोजक पदम प्रसाद पाण्डेयले सरकारले नीति बनाउने, नेताहरूले भाषण गर्दै हिँड्ने तर कार्यान्वयन चरण फितलो हुँदा बजारदेही भान्सासम्म नागरिकका अधिकार कुष्ठित भएको बताउनु भयो । ‘अस्पताल र विद्यालयका भवन बनाउने जनशक्ति र श्रोतसाधन नदिने, ९८ प्रकारका औषधि निःशुल्क भन्ने अस्पतालमा सिटामोल नपाइने, सरकारकै कन्तबिजोग भएपछि कहाँ खोज्ने मानव अधिकार’ – पाण्डेयले भन्नुभयो । उहाँले बजारमा बिचौलियाको मनोमानी, गुणस्तरहिन उपभोग्य सामग्रीको बिक्री वितरण र मनलाग्दी मुल्य हुँदा पनि सरकारका दशैँतिहार लक्षित अनुगमनले काम नगरेका बताउनु भयो ।
त्यस्तै गैरसरकारी संस्था महासङ्घका अध्यक्ष विष्णु प्रसाद भण्डारीले सदरमुकाममै सडक बालबालिकाको सङ्ख्या र अराजकता बढेकाले संरक्षणमा राज्यका संयन्त्र चुकेको गुनासो गर्नुभयो । उहाँले अभिभावक मजदुरीमा जाने तर छोराछोरी दिनभर सडकमा हुँदा चोरी, जवरजस्ती करणी, माग्ने लगायतका क्रियाकलाप बढेकाले दीर्घकालीन समाधानको माग गर्नु भयो ।

जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले केन्द्रका मन्त्रालय र कार्यालयहरुमा जनशक्ति र श्रोतसाधन भरिपूर्ण हुने तर नियमित सेवाप्रबाहमा समेत अप्ठ्यारो हुने स्थितिमा सरकारका संयन्त्र र अभियान प्रभावकारी हुन नसकेको स्विकार गर्नुभयो । उहाँले जिल्लातहमा हुने समाधान गर्न सकिने समस्याहरुको बारेमा छलफल र गृहकार्य अगाडि बढेको बताउनु भयो ।
त्यस्तै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोर्ण बहादुर खत्रीले विद्यालय पुग्दा अझै पनि विद्यालयका भवननै माग्ने र गाउँमा बाटोनै चाहियो भन्ने प्रवृतिका कारण आर्थिक, समाजिक विषय ओझेलमा परेको बताउनु भयो । उहाँले स्थानीय सरकारले असाध्यै चुकेको र गर्न नसकेको काम शिक्षा क्षेत्र भएकाले गाउँका विद्यालयहरू खाली हुँदै जाने बिडम्बना बनेको खत्रीले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख हरि प्रसाद ज्ञवालीले देशकै समग्र मानव अधिकार र इन्सेक गुल्मी जिल्ला प्रतिनिधिले जिल्लाको मानव अधिकारीको अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो ।
