घरेलु हिंसा घटनाका पीडित महिलालाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८१ मङ्सिर १७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।
गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी ३३ वर्षीया राधिका वडाललाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडित महिलालाई आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडितले मानव अधिकार सहायता कक्षमा निवेदन दिनु भएको थियो । सोही निवेदको आधारमा इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले घटनाको अध्ययन गरी पीडित महिलालाई आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।
गौरीगंगा नगरपालिका–७ कैलाशपुरका ३७ वर्षीय पति दलविरसिंह वडालले सम्बन्धविच्छेदको मुद्दा कैलाली जिल्ला अदालतमा दर्ता गरेपछि ०८१ कात्तिक २ गते प्रतिउत्तर–पत्र जिल्ला अदालतमा चढाएको र कानुनी प्रक्रियामा असहज भएकोले सहयोगका लागि इन्सेकमा निवेदन दिएको पीडित महिलाले बताउनु भयो । इन्सेकबाट आर्थिक सहयोग प्राप्त भएकोले कानुनी प्रक्रियामा जान सहज हुने उहाँले बताउनु भयो ।