
“हामी सबैको प्रतिबद्धता ; लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने मुल नाराका साथ ०८१ मङ्सिर १० गतेदेखि शुरु भएको ३३ औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियानको शुभारम्भ सिराहामा मङ्सिर १० गते र्याली, अन्तरक्रिया तथा सडक नाटक गरी समपन्न भएको छ ।
सिरहा नगरपालिकाको आयोजना र इन्सेक, मुक्ति नेपाल, दलित जनकल्याण यूवा कल्ब, समग्र जनउत्थान केन्द्र, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय सिरहा, शिक्षका लागि राष्ट्रिय अभियान नेपाल सिरहा, आसमान नेपाल, लाइफ नेपाल, प्रदेश युवा सञ्जाल, सिएमसी, एसओएस चिल्ड्रेन भिलेजलगायतका संघ संस्थाहरूको समन्वयमा कार्यक्रम समपन्न भएको हो ।
र्यालीपश्चात प्रादेशिक अस्पताल लहानमा रहेका ६० जना बिरामीहरूलाई फलफु वितरण गरिएको लहान नगरपालिकाका महिला शाखाकी संयोजक अन्जना साहले बताउनु भयो ।
प्रादेशिक अस्पताल लहानमा आयोजित कोण सभामा लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले महिला माथि हुने हिंसा रोकथामका लागि नेपालमा कानुनहरूको निर्माण भए तापनि कार्यान्वयण पक्ष फितलो रहेको बताउनु भयो । लहान नगरपालिकाले जनचेतना मुलक विभिन्न कार्यक्रमहरू बनाएको र संघसंस्थाको सहयोगमा उक्त कार्यक्रमहरू गर्ने उहाँले बताउनु भयो ।

त्यसैगरी, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सिरहा नगरपालिकाका प्रमुख डाक्टर नविन कुमार यादवले महिलाहरूलाई आफ्नो अधिकार कसरी प्राप्त गर्ने जानकारी नभएको बताउनु भयो । लैङ्गिक हिंसाविरुद्ध नेपालमा धेरै कानुनहरू निर्माण भएको छ र कानुन कार्यान्वयनको लागि संघ संस्थाहरूले सचेतनाका धेरै कामहरू गरेको बताउनुहुँदै महिलामाथि हुने हिंसाहरू घर र महिलाबाटै भएको उहाँले बताउनु भयो । तसर्थ, नेपाल एउटा कानुनी राज्य भएकोले सबैले कानुनको परिधिभित्र रहेर महिला हिंसा न्यूनिकरण तथा अन्त्यको लागि घरबाटै महिला हिंसविरुद्धको आवाज उठाउन जरुरी रहेको डाक्टर यादवले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले हिंसाविरुद्धको अभियान १६ दिन मात्रै नगरेर ३ सय ६५ दिन नै गर्नुपर्ने बताउनु भयो । देशले कानुन तथा नीति नियम बनाए पनि समाज र कार्यान्वयन गर्ने पक्षको नियत खराब भएकोले हिंसा बढीरहेको बताउनुहुँदै संघ, प्रदेश र स्थानीय सरकार र मानव अधिकारको क्षेत्रमा कार्यरत संघ संस्था तथा सरोकारवाला निकाय सबै मिलेर काम गरे हिंसामा कमी हुने बताउनु भयो । कार्यक्रममा बालविवाहविरुद्ध जनचेतना मुलक सडक नाटक पनि प्रस्तुत गरीएको थियो ।




