INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार समूहको कार्ययोजना बैठक सम्पन्न

Photo 20241006 Dhanusha (2)
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित पालिकास्तरीय मानव अधिकार समूहको कार्ययोजना बैठक ०८१ असोज २० गते सम्पन्न गरिएको छ ।

बैठकले मङ्सिर महिनासम्ममा मानव अधिकार समूह गाउँपालिकामा सूचिकृत गर्ने, मानव अधिकार सहायता कक्ष गठन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रम कार्यान्वयन गराउन गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत बीच छलफल गर्ने साथै बटेश्वर गाउँपालिकाका पाँच ओटै वडामा वडा स्तरीय मानव अधिकार समूह बिस्तार गर्ने लगायतका निर्णयहरू गरिएको मानव अधिकार समूहका अध्यक्ष सुरज महतोले बताउनु भयो ।

बैठकमा बटेश्वर गाउँपालिका वडा नं. ४ मा स्थित पशु सेवा कार्यालयमा औषधि अभाव रहेको, वडा नं. ४ स्थित बर्थिङ्ग सेन्टर सूचारु नरहेको, वडा नं. २ र ३ मा आत्म हत्याको घटना बढेर गएको, वडा नं. २ स्थित जनप्रिया माध्यमिक विद्यालय तथा कार्तिककुम्हर बजार क्षेत्रमा लागु औषधको प्रयोग गर्ने कार्य बढीरहेको र उमेर नपुग्दै प्रेम सम्बन्ध गरी गाउँबाट भाग्ने तथा बालविवाहको घटना बढिरहेको भनि समस्याको पहिचान गरिएको थियो । मावन अधिकार समूहले ती समस्या समाधानका लागि सम्बन्धित निकायमा ध्यानाकर्षण गाराउने र समाजमा रहेको समाजिक हानिकारक प्रथा बालविवाह, जातीय विभेद र दाइजो प्रथा लगायतको अन्त्यका लागि गाउँ तहसम्म अभियानहरू सञ्चालन गर्ने कार्यको योजना बनाइएको मानव अधिकार समूहका अध्यक्ष सुरज महतोले बताउनु भयो ।

बैठकको सहजिकरण गर्दै इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकार शिक्षा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष ०८१/८२ मा सम्पन्न गर्नु पर्ने कार्यक्रम बारे जानकारी गराउँदै स्थानीय तहमा रहेको शिक्षा, स्वास्थ्य, वातावरण र विभेदका सवाललाई उजागर गर्दै स्थानीय तहको सरोकारवाला निकायसँग समन्व र सहकार्य गरी कार्य गर्नु पर्नेमा जोड दिनु भयो ।

इन्सेक मधेस प्रदेशका प्रलेख अधिकृत मोहनकुमार चौधरीले स्थानीय तहमा नागरिकका अधिकारहरू कुण्ठित हुने गरेको र नागरिकले सहज रुपमा अधिकार प्रत्युभूति गर्न नसकिरहेको हुँदा मानव अधिकार समूहले नागरिकको हक अधिकारका लागि सहजिकरण गर्ने भूमिका निर्वाह गर्नु पर्ने बताउनु भयो ।

उक्त बैठकमा बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहका अध्यक्ष सुरज महतो, सदस्य हरिनारायण दास, सुनिता देवी महतो, प्रविन कुमार ठाकुर, सद्दाम हुसेन, किशोरी पण्डित, सरोज कुमार महतो, रामहृदय महासेठ, सोमनी कुमारी दास, राजु पासवान र मोहन कुमार चौधरी लगायतको सहभागीता रहेको थियो ।

अन्य

भिडियो