
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा ०८१ असोज ३ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेकका अध्यक्ष डाक्टर कुन्दन अर्यालले इन्सेकको परम्परा र मानव अधिकार अभियानको वर्तमान कार्यदिशा बारे बताउनुहुँदै नागरिक तथा राजनीतिक अधिकारका सवाल नेपालमा स्थापित भइसकेकाले इन्सेकले अब आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवाललाई नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत स्थापित गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष अर्यालले जलवायु परिर्वतनका कारण धेरै प्राकृतिक विपद्का घटना देखिएको र ती घटनामा मानव अधिकारका सवाल प्रत्यक्ष रूपमा आकर्षित हुने बताउनु भयो ।
आगामी दिनमा मानव अधिकार र जलवायु परिर्वतनसँगै पर्यावरणीय अधिकार नागरिकका मुद्दा भएकाले इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत अबका दिनमा वातावरणको अधिकारका सवाललाई अभिलेखीकरणसहित प्रसार गर्ने बताउनु भयो ।
कार्यक्रममा वातावरण विज्ञ डाक्टर दिनेशराज भुजुले वातावरण र मानव अधिकारका सवालमा सहजीकरण गर्नु भएको थियो ।

मानव अधिकार अभिलेख तथा प्रसार विभाग प्रमुख तथा इन्सेक अनलाइनका प्रधान सम्पादक मदन पौडेलले तालिमको परिचय, उद्देश्य, नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि घटना सङ्कलन निर्देशिका र घटना अध्यावधिक सीपको विषयमा बताउनु भयो ।
इन्सेकका सूचना अधिकारी कृष्ण गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तकका लागि तथ्य सङ्कलन सीप अभ्यासका सैद्धान्तिक र प्रयोगात्मक ज्ञानको विषयमा सहजिकरण गर्नु भयो ।
इन्सेक गण्डकी प्रदेशका प्रदेश संयोजक शिवप्रसाद खकुरेलले मानव अधिकार वर्ष पुस्तकको स्तरवृद्धिका लागि जिल्ला प्रतिनिधिहरूको भूमिका बारेमा सहजिकरण गर्नु भयो ।

इन्सेक बाग्मती प्रदेशका संयोजक गणेश भण्डारीले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनाहरूलाई समेट्नु पर्ने बताउनु हुँदै उक्त अधिकारका विषयमा तथा क्षेत्रहरूको सवालमा सहजिकरण गर्नु भयो ।

इन्सेक अनलाइनका सम्पादक गोविन्दप्रसाद त्रिपाठीले इन्सेक अनलाइनको विषयमा चर्चा गर्नु भयो । उहाँले इन्सेक अनलाइन निर्देशिका, समाचार लेखन अभ्यास र प्रस्तुति अभ्यासको बारेमा बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयका सहायक आइटी अफिसर नविन शर्माले एचआरभी प्रणालीको बारेमा बताउनुहुँदै एचआरभी प्रणालीमा मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रविष्टि गर्दा ध्यान दिनुपर्ने विषयवस्तु बारे जिल्ला प्रतिनिधिहरूलाई प्रस्ट पार्नु भयो । जिल्ला प्रतिनिधिहरूलाई समयमै घटना विवरण प्रविष्टिका लागि आग्रह गर्नुका साथै कुनै प्राविधिक समस्या परेमा जानकारी गराउनुहुन अनुरोध पनि गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा इन्सेक मधेस प्रदेश कार्यालयका संयोजक राजु पासवानलेसमापन मन्तव्य राख्दै मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाका पीडितहरूलाई इन्सेकद्वारा गठित मानव अधिकार सहायता कक्षले आर्थिक तथा कानुनी उपचारमा सहयोग गर्दै आएको र त्यस्को प्रक्रिया बारे जिल्ला प्रतिनिधिहरूलाई स्पस्ट पार्नु भयो ।
इन्सेक केन्द्रीय कार्यालयको आयोजना तथा मधेस प्रदेश कार्यालयको सहजीकरणमा आयोजित तालिममा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिहरूको सहभागिता थियो ।
