INSEC Online

📅 २०८३ जेष्ठ २१

रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेकद्वारा ज्ञापनपत्र

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालयले प्रमुख जिल्ला अधिकारमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान पारित गरिएको दिन १७ जुलाइको स्मरणमा गर्दै इन्सेकसहित विभिन्न संघसंस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत ०८१ साउन २ गते नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालय, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको इन्सेक कोशी प्रदेश कार्यालयका प्रलेख अधिकृत पुण्य अधिकारीले बताउनु भयो ।

इन्सेक, माइती नेपाल, ओरेक, सानाहातहरु, सिविन नेपाल, नेपाल पत्रकार महासंघ मोरङ शाखालगायत १० ओटा संस्थाका प्रतिनिधिले सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको प्रलेख अधिकृत अधिकारीले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा अन्तर्राष्ट्रिय न्याय दिवसका अवसरमा दण्डहीनताको अन्त्य गरी पीडितहरूको न्याय सुनिश्चित गर्न राज्यसँग आग्रह गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले सङ्क्रमणकालीन न्यायलगायतका विषयको दीर्घकालीन समस्या समाधानका लागि राज्यले प्रयास गरिरहेको बताउनु भयो । उहाँले अधिकारकर्मीले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा कारबाहीका लागि पठाउने बताउनु भयाे ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान सन् १९९८ को जुलाई १७ देखि सम्मिलनका लागि खुला गरिएको थियो । यो विधान संसारका विभिन्न १ सय २४ राष्ट्रले अनुमोदन गरिसकेका छन् । दक्षिण एसियाका बङ्गलादेश, अफगानिस्तान, मालदिभ्सलगायत एसियाका १९ देशहरू रोम विधानको पक्ष राष्ट्र भइसकेका छन् ।

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका सन्दर्भमा नेपाललाई विभिन्न राष्ट्रहरूले अन्तर्राष्ट्रिय फौजदारी अदालतको स्थापनाका लागि रोम विधान अनुमोदन गर्न दिएको सुझाव पनि नेपालले बेवास्ता गरिरहेको अवस्था छ । यस अवस्थाको अन्त्य गरी तत्काल रोम विधान अनुमोदन गर्न नेपाल सरकारसँग इन्सेकले ज्ञापनपत्रमार्फत माग गरेको छ ।

Photo 20240717 Morang (4)

अन्य

भिडियो