
मधेस प्रदेशका मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशको अयोजना र डिसिएको सहयोगमा ०८१ असार १५ गते जनकपुरधाममा मानव अधिकार रक्षकहरूका लागि क्षमता अभिबृद्धि तालिम सम्पन्न गरिएको हो ।
राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका कार्यालय प्रमुख मञ्जु खतिवडाले मानव अधिकारसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी प्रावधानहरूका बारेमा सहजिकरण गर्नु हुँदै मानव अधिकार रक्षकहरूले मानव अधिकार संरक्षण र सम्बद्र्धनमा कार्य गरिरहँदा कानुनी ज्ञान आवश्यक रहेको बताउनु भयो ।
नेपालले हस्ताक्षर गरेका मानव अधिकारसँग सम्बन्धित अन्तर्राष्ट्रिय सन्धि तथा महासन्धिहरू अनुरुप नागरिकको अधिकार सुनिश्चित गर्नु पर्नेमा उहाँले जोड दिनु भयो । नागरिकको हक अधिकारलाई सुनिश्चित गर्न बनेका कानुनहरू पनि प्रभावकारी रुपमा कार्यान्वयन हुनु पर्ने उहाँको भनाई थियो ।
इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले मानव अधिकार रक्षकहरूले पालना गर्नु पर्ने आधारभूत आचार संहिताका सन्दर्भमा सहजिकरण गर्नु हुँदै मानव अधिकार संरक्षण र सम्बद्र्धन कार्य गरिरहँदा पीडित मैत्री र कसैलाई हानी गर्न नहुने सिद्धान्त मानव अधिकारकर्मीहरूले पालना गर्नु पर्ने बताउनु भयो ।
मधेस प्रदेश प्रहरी कार्यालयका एसपी शुवासचन्द्र बोहराले मानव अधिकार संरक्षण र सम्बद्र्धनमा प्रहरीको भूमिका विषयमा सहजिकरण गर्दै नेपाल प्रहरी मानव अधिकार रक्षाका लागि सदैव तत्पर रहेको बताउनु भयो । नेपाल प्रहरीलाई समेत मानव अधिकारसँग सम्बन्धित तालिम प्रदान गरिँदै आएको र मानव अधिकार उल्लङ्घन गर्ने प्रहरीलाई आन्तरिक कारबाही समेत गर्ने गरिएको उहाँले बताउनु भयो ।
नागरिकको हक अधिकार र मानव अधिकार प्रत्याभुतिका लागि नागरिक समाज तथा मानव अधिकार रक्षकहरूको समेत सहयोग र साथ आवश्यक रहेको उहाँले जोड दिनु भयो ।
एडभोकसी फोरम नेपालका मधेस प्रदेश संयोजक राजकुमार महासेठले मानव अधिकारको अवधारणा, मानव अधिकार घटनाको अनुगमन तथा अभिलेखन कार्यका सन्दर्भमा सहजिकरण गर्नु हुँदै गम्भीर प्रकृतिका घटनाको स्थलगत अध्ययन तथा अनुगमन आवश्यक रहेको बताउनु भयो । मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको सत्य तथ्या पत्ता लगाउन र पीडितको न्यायका लागि पहल गर्न मानव अधिकार घटनाको स्थलगत अध्ययन गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।
इन्सेकका मानार्थ सदस्य वैधनाथ झाले मानव अधिकारर्मीले कामको समयमा भोग्नु परेका समस्याहरूको निमित्त यो तालिम उपयोगी भएको र अधिकारर्मीहरुलाई यसले थप सशक्त भएर कार्य गर्ने क्षमतामा विकास भएको बताउनु भयो ।
कार्यक्रममा मानव अधिकारका क्षेत्रमा क्रियाशिल मधेस प्रदेशका ४५ जना मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।


