अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा असार १६ गते इन्सेक द्वारा गठित बालअधिकार समूहको प्रदेश स्तरीय सञ्जाल बैठक पोखरामा सम्पन्न भएको छ ।
बालअधिकार समूह प्रदेशका अध्यक्ष सुनिश्चित गुरुङले विद्यालयमा महिला हिंसा, अन्धविश्वास, जातीय विभेद लगायतका विषयमा नाटक मार्फत सचेतना गर्दै आएको बताउनुभयो । गाउँपालिकामा रहेका बालविवाह लगायतका विषयमा पनि सचेतना फैलाएको उहाँले बताउनुभयो । ‘छुवाछुत, बालविवाह, वृक्षारोपण लागयतका कामहरु निरन्तरता दिँदै आएको छौं,’ उहाँले भन्नुभयो । बालअधिकार समूहले व्यक्तिगत नेतृत्व विकास पनि भएको उहाँले बताउनुभयो । ‘हिजो माइक समातेर बोल्न डराइन्थ्यो । आज माइक समातेर पनि हामी सहज बोल्न सक्ने भएका छौं,’ उहाँले बताउनुभयो ।
महेन्द्र माविकी सृष्टी नेपालीले अहिले समाजमा भएका समस्यालाई मुख्य रुपमा लिएर विभिन्न टोलमा सचेतना कार्यक्रम गरेको साथै मदिराले घरपरिवार र सदस्यमा पर्ने नकारात्मक असर लगायतका विषयमा सचेतनामूलक काम गरेको बताउनुभयो ।
भीमसेन माविका पुनम राना मगरले आफुहरुले तीन तीन महिनामा भित्तपात्रो निकाल्ने, विभिन्न सचेतनामूलक नाटक प्रदर्शन गर्ने, विद्यालयमा सरसफाइका काम गर्ने जस्ता कामहरु निरन्तर गरेको बताउनुभयो ।
यस्तै कालिका विद्यालयका सौरभ विश्वकर्माले महिला हिंसा विरुद्ध आफूहरुले सचेतना फैलाउँदै आएको बताउनुभयो । उहाँले नाटक लेखेर समाजमा चेतना फैलाउन सकेकोमा खुसी व्यक्त गर्नुभयो ।

