INSEC Online

📅 २०८३ जेष्ठ २१

आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रवर्धनमा सरोकारवालाहरूको जोड

नागरिक तथा राजनीतिक अधिकारमा धेरै सुधार भइसकेको उल्लेख गर्दै अब नागरिकको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार प्रवर्धनमा सरोकारवालाहरूले जोड दिएका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक मानव अधिकार सम्बन्धी सूचनाको सङ्गालो भन्दै यसको प्रभावकारी बढाउन त्यसमा अभिलेख हुने घटनालाई सत्यतथ्य बनाउन सरोकारवालाहरूले सुझाव दिएका हुन् ।

मानव अधिकार सञ्जाल, दाङका कार्यवाहक संयोजक श्रीमन न्यौपानेले नागरिकको आर्थिक पाटो बलियो बनाउन जरुरी रहेको बताउनु भयो । नागरिकको जीवनस्तर उकास्ने, सामाजिक र साँस्कृतिक सम्मानमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले अदालत न्याय दिन अन्तिम ठाउँ भएकाले न्याय र मानव अधिकारप्रति गम्भीर रहेको बताउनु भयो । उहाँले पछिल्ला दिनहरूमा विभिन्न घटनाहरू भइरहेको उल्लेख गर्दै मानव अधिकारको विषयमा सचेतना आवस्यक रहेको बताउनु भयो ।

नागरिक समाज, दाङका सचिव नारायण श्रेष्ठले मानव अधिकारप्रति राज्य नै गम्भीर नभएको बताउनु भयो । पछिल्लो पटक जिल्लामा मोही किसानको आन्दोलनमा राज्यले विकल्प हुँदाहुँदै पनि अश्रुग्याँस प्रहार गरेको बताउनु भयो । पानीका फोहोरा हान्ने वा पूर्व सतर्कता अपनाउनुपर्नेमा त्यसो नभएको उहाँको भनाइ छ ।

मोही हक कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका दाङका किसानहरूमाथि ०८१ जेठ २० गते प्रहरीले १० सेल अश्रुग्याँस प्रहार गर्दा १२ जना आन्दोलनकारी घाइते भएका थिए । उक्त घटना प्रति आफ्नो धारणा राख्दै वडा प्रहरी कार्यालय, घोराहीका इन्स्पेक्टर रामप्रसाद पाण्डेले राज्यका निकायमै तालाबन्दी गर्न खोज्दा रोक्ने काम प्रहरीले गरेको बताउनु भयो । उहाँले भिड नियन्त्रण गर्न सुझाव पूर्णरुपले कम क्षति हुने गरी अश्रुग्यास हानेको बताउनु भयो । मानव अधिकारको सम्मानमा प्रहरी जिम्मेवार रहेको भन्दै उहाँले न्याय र मानव अधिकारका लागि प्रहरीलाई सहयोग गर्न नागरिक समाजलाई आग्रह गर्नुभयो ।

जिल्ला कारागार कार्यालय, घोराहीका योगेन्द्र रिजालले क्षमताभन्दा चारगुणा कैदीबन्दी राख्नुपर्ने अवस्थाले दिइने आधारभूत सेवामा समस्या भएको बताउनु भयो । आफूहरूले आधारभूत सेवा प्रवाह गर्न प्रयासरत रहेको उल्लेख गर्दै कैदीबन्दीको चाप बढ्दा समस्या पनि बढ्दो अवस्थामा रहेको जानकारी दिनुभयो ।

अन्य

भिडियो