अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा लुम्बिनी प्रदेशमा सञ्चालित मानव अधिकार समूहका सदस्यहरूबीचको अनुभव आदानप्रदान कार्यक्रम ०८१ असार १२ गते कैलाली जिल्लाको चिसापानीमा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै इन्सेक लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत सरस्वती मल्लले लुम्बिनी प्रदेशलाई मानव अधिकारमैत्री बनाउने अभियानमा सबै निकायलाई जिम्मेवार बनाउन आफूहरू लागि परेको बताउनु भयो । उहाँले महिला हिंसाका घटनाहरू न्यूनीकरणका लागि पारिवारिक सम्बन्ध प्रगाढ हुनु पर्ने उल्लेख गर्नुभयो ।
मानव अधिकार समूह कपिलवस्तु नगरपालिकाका संयोजक पुष्पा रेग्मीले मानव अधिकार समूहको काम कर्तब्य र भूमिकाको बारेमा बताउँदै सबैलाई मानव अअधिकारको रक्षा तथा पैरवीमा समाज तथा आफू नजिकको स्थानीय तहमा निगरानी बढाउन आग्रह गर्नुभयो । उहाँले मानव अधिकार रक्षाको सवालमा आफ्नो अनुभव बताउँदै मानव अधिकार समूहका सदस्यहरूलाई मानव अधिकार रक्षाको लागि जुट्न हौसला बढाउनु भयो ।
मानव अधिकार समूह खजुरा गाउँपालिकाका संयोजक कौसकी यादवले आफ्नो स्थानीय तहमा भएका सबै जनतालाई स्वास्थ्य अधिकार प्रत्याभुत गराउन जनस्तरबाट स्थानीय सरकारलाई सचेत पार्दै आएको र स्वास्थ्य सेवालाई थप व्यवस्थित पार्नुपर्नेमा आफूहरूले सम्बन्धित निकायलाई पहल गरेको बताउनु भयो ।
मानव अधिकार समूह जानकी गाउँपालिकाका संयोजक मोहमद जाहिर शेखले वातावरण संरक्षणका लागि नागरिकले आफैबाट सुरु गर्नुपर्ने बताउनु भयो । उहाँले जानकी गाउँपालिकाबाट बजेट ल्याएर मानव अधिकार र मौलिक हकसम्बन्धी सचेतना कार्यक्रम र वडास्तरीय मानव अधिकार समूह गठन गर्न सफल भएको उल्लेख गर्नुभयो । वातावरण संरक्षणका लागि समाजमा हरेक नागरिक, मानव अधिकार समूह, स्थानीय निकाय अन्य गैरसरकारी सङ्घ संस्थाले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम र प्रयासहरू गर्नुपर्ने उहाँको भनाइ छ ।
कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै इन्सेक बाँके जिल्ला सहजकर्ता लक्ष्मी थारुले इन्सेकले शिक्षा, स्वास्थ्य तथा वातावरणको क्षेत्रमा बाँके र कपिलवस्तुमा मानव अधिकार समूह तथा बाल अधिकार समूह गठन गरेर काम गरिरहेको बताउनु भयो । उहाँले समूहहरू मार्फत स्थानीय तहमा भएका समस्या पहिचान गरी समाधानको लागि स्थानीय तहलाई जागरुक बनाउने, मागदाबीहरू गर्ने र नीति तथा कार्यक्रमहरू कार्यान्वयन भएको सुनिश्चित गर्ने काम गरिरहेको बताउनु भयो ।



