इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय मावि हात्तिबाङमा इन्सेकद्वारा गठित बालअधिकार चेतना समूहले जेठ १८ गते दाइजो प्रथा विरुद्ध सचेतना मूलक सडक नाटक प्रदर्शन गरेको छ ।
दाइजो प्रथा बारे सचेतना मूलक सडक नाटकमा हाम्रो नेपाली समाजमा छोरीको विवाहमा दिने दाइजोको प्रचलन र दाइजो नदिँदा छोरीलाई केटा पक्षको घरपरिवारले दिने शारीरिक तथा मानसिक यातना र समाजमा प्रायः छोरीहरुले भोग्नु परेको पीडा बारेमा नाटक मार्फत प्रस्तुत गरेका थिए ।
सडक नाटक प्रर्दशन कार्यक्रममा श्री राष्ट्रिय मावि हात्तिबाङका प्रध्यानाध्यापक लोकबहादुर मगरले विद्यार्थीहरुले प्रस्तुत गरेको नाटकले हाम्रो समाजमा भएको यथार्थतालाई उजागर गरेको बताउनु भयो ।
उहाँले नाटक मार्फत विद्यार्थीहरुमा रहेको भित्रि प्रतिभालाई निखर्ता ल्याउन, समाजमा सकारात्मक सन्देश दिन सक्ने तथा विद्याथर््ीाको प्रतिभा विकास गर्न सक्ने बताउनुभएको थियो । प्रधानाध्यापक मगरले यस्ता कार्यक्रमहरुको आयोजना गर्नका लागि सहयोग गरेकोमा इन्सेकलाई धन्यवाद दिनुभएको थियो ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीले विद्यार्थीहरुले नेपाली समाजको तितो यर्थाथ चित्रण गरि यस विषयमा धेरै कुरा समेटि दाइजो प्रथा विषयमा प्रदर्शन गरेको नाटक समाजमा अभिभावक तथा विद्यार्थीमाझ प्रभावकारी र जनचेतना मुलक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारी, शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी, स्थानीय लगायतको उपस्थित रहेको थियो ।
