प्रहरीसँगको दोहोरो फायरिङको क्रममा डिल्लिबजार कारागारबाट फरार एक कैदी घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माघ १३ गते शनिबार भरतपुर महानगरपालिका-१ रामनगरमा साँझ ५ बजेको समयमा चेकजाँच गर्दा मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ४७ प ५०५२ नम्बरको मोटरसाइकलका चालक रामेछाप दोरम्बाका ३० वर्षीय टीका थापामगर प्रहरीको गोली लागी घाइते भएका हुन् ।
उक्त समयमा दोहोरो फाइरिङ हुँदा घटनामा प्रहरीले समेत ९ राउण्ड गोली प्रहार गरेको थियो । केही समय रामनगरको वातावरण आतङ्कित बनेको थियो ।
घाइतेको मगरको उपचार चितवन मेडिकल कलेजमा भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी प्रभुप्रसाद ढकालले बताए । मोटरसाइकलको पछाडि बसेका व्यक्तिले चेकजाँचको क्रममा गोली चलाएपछि दोहोरो फायरिङ भएको थियो ।
पछाडि बसेका व्यक्ति भने फरार रहेको डिएसपी ढकालले बताए । चितवन प्रहरी र महानगरीय प्रहरी अपराध महाशाखको संयुक्त चेकजाँचको क्रममा उक्त घटना भएको उनको भनाइ छ ।
प्रहरीका अनुसार यही माघ ४ गते डिल्लीबजार कारागारबाट उनी फरार भएका थिए । उनी ०६४ सालबाट विभिन्न घटनामा संलग्न रहेको र पटकपटक जेलसमेत परेको प्रहरीको भनाइ छ ।