
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालय, जनकपुरधामको आयोजनामा अर्धन्यायिक निकायको काम, कर्तव्य र अधिकार विषयक कार्यशाला ०८१ वैशाख १५ गते मिथिला नगरपालिका–१०, लालगढमा सम्पन्न भएको छ ।
कार्यशालाको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर, बटेश्वर गाउँपालिकाका उपाध्यक्ष, डाक्नेश्वरी, शम्भुनाथ, मिथिला र गणेशमानचारनाथ नगरपालिकाकालगायतका उपमेयरहरूले संयुक्त रुपमा गर्नु भयो ।
त्यस्तै, इन्सेक मधेस प्रदेशका संयोजक राजु पासवानले कार्यशालाको उद्देश्य बारे प्रकाश पार्नुहुँदै इन्सेकले स्थापनाकालदेखि नै मानव अधिकार र सामाजिक न्यायको लागि काम गर्दै आएको समेत जानकारी दिनु भयो ।
उक्त कार्यशाललाई अधिवक्ता राजकुमार महासेठ र जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले सहजिकरण गर्नु भयो ।
अधिवक्ता राजकुमार महासेठले नेपालको संविधान २०७२ को आधारमा निर्माण भएको स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम न्यायिक समितिको संयोजक पालिकाका उपप्रमुख तथा उपाध्यक्ष रहने व्यवस्था छ बताउनु भयो । साथै सदस्यहरूको भूमिका र दायित्व, पालिकामा न्यायिक समितिका सदस्यहरूले न्याय सम्पादनको लागि अवलम्बन गर्नु पर्ने प्रक्रिया, उहाँहरूले सामना गर्नुभएका चुनौैति र अवसरहरूको बारेमा उहाँले प्रस्ट पार्नु भयो ।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी भुवनेश्वर तिवारीले नेपाल प्रहरी र न्यायिक समितिबीचको समन्वय र सम्बन्ध, प्रहरी र न्यायिक समितिबीचको रहेको खाडलहरूको पहिचान गरी ती खाडलहरूलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा छलफल, र एकअर्काका अनुभवहरू आदानप्रदान गरी सहभागीहरूलाई प्रस्ट्याउनु भयो ।
कार्यशालमा मिथिला नगरपालिकाका उपप्रमुख सुनिता सिंह बुँदाथोकीले आफ्नो पालिकामा सासूबुहारी र पति–पत्नीबीचको झगडा, बाटोघाटोको विवाद, अन्नबाली नष्ट भएको, सम्बन्ध विच्छेदलगायत ५३ ओटा घटनााहरू न्यायिक समितिमा दर्ता भएको जसमध्ये २१ ओटा घटनाहरूलाई स्थानीय तह मै मिलापत्र गराएको जानकारी दिनु भयो । साथै न्याय सम्पादनसम्बन्धी ज्ञानको अभाव भएको कारण न्यायिक समितिको संयोजकको रूपमा जिम्मेवारी बहन गर्न कठिन समेत भएको उहाँले बताउनु भयो ।
यसै क्रममा “न्यायिक समिति, प्रहरी, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग, गैर सरकारी संघ संस्था, मानव अधिकारको क्षेत्रमा काम गर्ने सबै संघ संस्थाबीच समन्वय र सहकार्यमा बृद्धि गर्ने, नागरिकहरूको न्यायमा पहुँच पुर्याउने र न्यायिक निकायलाई पीडितमैत्री बनाउने उद्देश्यले काम गरेका छौं”–जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताउनु भयो । साथै न्यायिक समितिले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्यो भने जिल्ला प्रशासन कार्यालयमा मानिसहरूको चाप कम हुने र काम गर्न पनि सहज हुने उहाँले बताउनु भयो ।
गणेशमानचारनाथ नगरपालिकाका उपप्रमुख तुलसा कुमारी पाण्डेले एसपी भुवनेश्वर तिवारीको प्रशंसा गर्नुहुँदै आफ्नो पालिकामा भएको नदीजन्य वस्तुको अवैध उत्खनन्लाई रोक्न उहाँसँग सहयोगको अपेक्षा समेत गर्नु भयो । पालिकामा सचिवहरूको चाँडै सरुवा भएकोले काम गर्न चुनौतीपूर्ण रहेको उहाँले बताउनु भयो ।
सप्तरीको डाकनेश्वरी नगरपालिकाका उपप्रमुख मिराकुमारी यादवका अनुसार स्वच्छ, निष्पक्ष र निस्वार्थ भावनाले काम गर्यौ भने जनताले सदैव साथ र सहयोग गर्नेछ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि कुनै डर हुने छैन । हाम्रो पालिकामा इन्सेकले मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत जनचेतनामूलक अभियानहरू सञ्चालन गरी स्थानीहरूलाई मानव अधिकारको अर्थ र महत्वको बारेमा ज्ञान दिनु भएकोमा धन्यवाद दिनु हुँदै इन्सेकले गरेका कार्यहरू सरहानीय रहेको समेत उहाँले बताउनु भयो ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी शाहले कानुन अधिनमा रहेर हामीले न्याय सम्पादन गरिरहेका छौं र न्याय सम्पादनार्थ स्थापित न्यायिक समितिको कार्यालयमा कर्मचारीको अभाव रहेकोले कार्यसम्पादनमा असहज भएको बताउनु भयो ।
