पहुँचयुत्त भौतिक पूर्वाधार विकास अभिमूखिकरण कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य डिल्लीराम सुवेदीले राज्यका सबै सेवा सुविधामा सबैको समान पहुँच भएमात्र न्याय हुने बताउनु भएको छ ।
अपाङ्गता स्वावलम्बन विकास संघ (डिडा), आईएनएफ नेपाल हरियो खर्क अस्पताल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) र अपाङ्गता सरोकार संघ लगाएतका संघ संस्थाको आयोजनामा वैशाख १४ गते बागलुङमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै सहानुभूतिको मार्गबाट माथि उठ्दै समानुभूतिको चरणमा प्रवेश नगरेसम्म दिगो विकासको लक्ष्य प्राप्त गर्न नसकिने भन्दै सुवेदीले सम्मुन्नत समाज निर्माणका लागि राज्यका सबै निकाय संवेदनशिल बन्नुपर्नेमा जोड दिनु भएको हो ।
कार्यक्रममा गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले स्थानीय तहमा हुने ठुला भौतिक संरचना निर्माणका योजना र कार्यक्रमलाई सबैका निम्ति पहुँचयुत्त बनाउनका लागि प्रदेश र केन्द्र सरकारलाई सचेत बनाउनु पर्ने बताउनु भएको छ ।
जैमिनी नगरपालिकाका नगर प्रमुख नरबहादुर पुनले अपाङ्गता भएका व्यक्तिलाई समावेश नगरी निर्माण गरिने नीति, योजना र कार्यक्रमका कारण पहुँचयुत्त भौतिक पूर्वाधार मात्र नभएर अन्य विकास पनि पहुँचयुत्त हुन नसकेको भन्दै आगामी दिनमा नगरका हरेक योजना र कार्यक्रम निर्माणमा अपाङ्गता भएकालाई समावेश गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका सहभागिले बन्दै गरेका र अब बन्ने हरेक संरचना पहुँचयुत्त बन्नुपर्नेमा जोड दिएका थिए ।
सो अवसरमा जिल्ला समन्वय समिति बागलुङका उप–प्रमुख होमनाथ सापकोटा, सहायक प्रमुख जिल्ला अधिकारी चित्रांङ्गत बराल, अनौपचारिक सेवा केन्द्र इन्सेकका गण्डकी प्रदेश प्रमुख शिव खकुरेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सहजिकरण राष्ट्रिय अपाङ्ग महासघं गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्मा सुबेदी र हरियो खर्क अस्पतालका तारा हाङ तावाले गर्नुभएको थियो ।
कार्यक्रममा गलकोट नगरपालिकाका इन्जिनियर बलविक्रम दाहाल, शारिरीक अपाङ्ग संघ बागलुङका अध्यक्ष होमनाथ शर्मा, नेत्रहिन संघ बागलुङका सचिव बिकल थापा लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।


