
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा गठित डाक्नेश्वरी नगरपालिका मानव अधिकार समूहले वडा नम्बर ७ ब्रहमपुरस्थित सदा टोलमा ०८० चैत २६ गते वडा स्तरीय मानव अधिकार समूह गठन र कार्ययोजना निर्माण बैठक सम्पन्न गरेको छ ।
डाक्नेश्वरी नगरपालिका–७ का वडा अध्यक्ष शत्रुघ्न मण्डलको अध्यक्षतामा सम्पन्न वैठकले किशुनवती देबी सदाको अध्यक्षतामा २० सदस्यीय वडा स्तरीय मानव अधिकार समूह चयन गरेको हो ।
कार्यक्रममा बोल्नु हुँदै वडा नम्बर ७ का वडा अध्यक्ष शत्रुघ्न मण्डलले कुनै पनि हिंसा विरूद्ध एकजुट हुनु जरुरी रहेको बताउनु भयो । आफ्नो अधिकार र समाजप्रतिको कर्तव्य बारे बुझ्न र बुझाउनका लागि गठन भएको वडा स्तरीय मानव अधिकार समूहलाई वडा कार्यालयको साथ, सहयोग रहने प्रतिबद्धता गर्नुभयो ।
नगर मानव अधिकार समूहकी सहसचिव ममता कुमारी ठाकुरले पीडितको पहिचान र वडामा देखिएका समस्याहरूबारे छलफल गरी न्यायको वातावरण सृजना गरेर सभ्य समाजको निर्माण गर्नु सबैको कर्तव्य रहेको बताउनु भयो । उहाँले अधिकारबाट कोही पनि बञ्चित हुनु नहुने कुरालाई सुनिश्चित र व्यव्स्थापन गर्न स्थानीय सरकारको प्रमुख जिम्मेवारी रहेको बताउनु भयो ।
समूहकी सदस्य सुनिता कुमारी सरदारले बाल विवाह र महिला हिंसा विरुद्ध तथा शिक्षाबाट वञ्चित बालबालिकाहरूका लागि सञ्चालित अभियानमा सधै पालिकाको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
अनौपचारिक शिक्षा, वडामा सरसफाई कार्यक्रम, वृक्षारोपण, लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन सम्बन्धमा वैठकले कार्ययोजना बनाएको इन्सेक सहजकर्ता अजय परीयारले जानकारी दिनुभयो । परीयारले इन्सेकको परियोजनाले गर्ने काम र उद्देश्यबारे जानकारी दिनुभएको थियो ।
