INSEC Online

📅 २०८३ जेष्ठ २१

सन्देशमूलक सूचना बोर्ड स्थापना र बालबालिका पुरस्कृत

20240202 Saptari 2

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशद्वारा शम्भुनाथ नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालयमा गठित बाल अधिकार सचेतना समूहले ०८० माघ १८ गते बाल अधिकार सम्बन्धी सन्देशमूलक सूचना बोर्ड स्थापना गरेको छ ।

इन्सेकद्वारा निर्मित सन्देशमूलक सूचना बोर्डमा नेपालको संविधानमा उल्लेखित बाल अधिकार सम्बन्धी व्यवस्था, बाल अधिकारको सिद्धान्त, बाल अधिकार हनन भएमा उजुरी दिने स्थानहरूका बारेमा जानकारी दिइएको छ ।

यसैगरी उक्त अवसरमा बाल विवाह, महिला हिंसा विरुद्ध मङ्सिर १२–१३ गते जनचेतना मूलक सडक नाटक प्रदर्शन गरी समुदायलाई ध्यानाकर्षण गराएकोमा सहभागी बाल अधिकार सचेतना समूहका बालबालिकालाई प्रोत्साहन स्वरूप मेडल लगाएर सम्मानित गरिएको छ ।

उक्त अवसरमा बालबालिकाहरूले बाल अधिकार सम्बन्धी कार्ययोजना समेत बनाएका छन् । कार्यक्रमको अध्यक्षता गर्नुहुँदै प्रधानाध्यापक विजय कुमार चौधरीले शिक्षाको वातावरण भएको विद्यालय बालमैत्री रहेको बताउनु भयो । बालबालिकाहरूलाई समाजमा हुने कुरीतिहरू विरुद्ध चेतनामूलक सडक नाटक प्रदर्शन गर्ने अवसर दिएकोमा इन्सेकलाई धन्यवाद दिदै प्रधानाध्यापक चौधरीले प्रोत्साहन स्वरूप बालबालिकाहरूलाई पुरस्कृत गर्दा मनोबल बढेको धारणा राख्नु भयो ।

मानव अधिकार समूहका अध्यक्ष पुलकित भगतले बाल अधिकारबाट बञ्चित नगर भित्रका बालबालिकाहरूको लागि मानव अधिकार समूहले काम गरिरहेको बताउनु भयो । इन्सेक जिल्ला सहजकर्ता अजय परियारको समन्वयमा भएको कार्यक्रममा भगतले बालबालिकाहरूको अधिकारका लागि काम गरिरहेको इन्सेकलाई समेत धन्यवाद व्यक्त गर्नुभयो ।

20240202 Saptari 4 20240202 Saptari 3 20240202 Saptari 1 20240202 Saptari

अन्य

भिडियो