INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व काभ्रेपलाञ्चोकमा वार्षिक समीक्षा कार्यक्रम ०८० पुस ४ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधिले सन् २०२३ मा सङ्कलन भएका मानव अधिकार उल्लङ्घनका घटनाहरू प्रस्तुत गर्नु भएको थियो ।

पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जारा प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै उहाँले नेपालमा मानव अधिकार वर्ष पुस्तकले अभिलेखिकरण सँगसँगै सचेतनाको विषयमा पनि उल्लेख्य योगदान पुर्‍याएको बताउनु भयो । उहाँले मानव अधिकार वर्ष पुस्तकमा हिंसाका घटनालाई स्थानीय तहपिच्छे विश्लेषणसहित प्रस्तुत गर्न सुझाव दिनुभयो । उपप्रमुख बन्जाराले नागरिक, राजनीतिक विषयलाई मात्र जोड नदिएर आर्थिक, सामाजिक र सांकृतिक सवालहरूमा पनि ध्यान दिन अनुरोध गर्दै मानसिक स्वास्थ्यको विषयमा ध्यान दिन सुझाव दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयको महिला सेलकी राजकुमारी श्रेष्ठले कतिपय घटना अन्जानमा भइरहेको बताउँदै प्रहरी एक्लैले केही गर्न नसक्ने बताउँदै स्थानीय सरकार, सामाजिक कार्यकर्ता र सङ्घसंस्थाले समेत अपराध न्यूनीकरणमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले बालबालिका पीडित भएको स्थानमा सङ्घसंस्थासँग मिलेर प्रायः विद्यालयमा गएर सचेतनाका कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्नुभयो ।

अधिवक्ता जमुना पसछेँले अदालतमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै कम उमेरका बालिकाहरू पीडित हुने घटनामा बालविवाह भन्दा जर्बजस्ती करणी अपराधमा सजाय बढी हुने भएकाले पीडितहरू त्यस्ता मुद्दा दर्ता गर्न उत्साहित हुने गरेको बताउनु भयो ।

पत्रकार मोतिराम तिमल्सिनाले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवधीमा जिल्लामा १२ ओटा महिला हिंसाका घटना भएको बताउँदै जिल्लामा बालविवाहका घटना प्रहरी कार्यालयमा दर्ता नभए पनि विकट बस्तीहरूमा बालविवाहका घटना बढेको उल्लेख गर्नुभयो । उहाँले प्रविधिको दुरुपयोगले हुने हिंसाका घटना बढेको र कुरा नमिलेपछि जर्बजस्ती करणी शिर्षकमा मुद्दा दर्ता हुने गरेको देखिएको बताउनु भयो ।

नेपाल अपाङ्गता महिला संस्थाकी पम्फा पुर्कोटीले अपाङ्गता भएका महिलाहरूमा महिनामा एक दुई ओटा बलात्कारका घटना आउने गरेको उल्लेख गर्नुभयो । उहाँले बौद्धिक अपाङ्गताका विषयमा अदालतमा मुद्दा पर्दा दोभाषे नभएर विज्ञ ल्याउनु पर्ने कुरामा जोड दिँदै विकट बस्तीबाट आउने पीडितहरूले न्याय प्राप्तीको लडाईमा हैरानी व्यहोर्नु परेको अनुभव उल्लेख गर्नुभयो ।

माइती नेपालकी प्रतिनिधि गायत्री गौतमले अधिकारका विषयमा पैरवी भन्दा पनि घटनाको न्यूनीकरणतिर ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सामाजिक कार्यकर्ता कल्पना विश्वकर्माले साइबर अपराधका घटनाबाट महिलाहरू पीडित बन्दै गएको बताउनु भयो ।

कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा, द्वन्द्वपीडित, पत्रकार, मानव अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो । मानवअ धिकार शिक्षा तथा सूचना केन्द्रका सचिव राजकुमार पराजुलीको अध्यक्षतामा भएको समीक्षा कार्यक्रमको सञ्चालन इन्सेक जिल्ला प्रतिनिधिले गर्नुभएको थियो ।

Photo_080-9-5_Kavre3

Photo_080-9-5_Kavre

Photo_080-9-5_Kavre2

अन्य

भिडियो