INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

insec

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि पर्सामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन घटनाहरुको पुस्तक प्रकाशन पूर्व २०८० म‌ङ्सिर ३० गते वीरगंजमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

इन्सेक पर्साका अनुसार सन् २०२३ को अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेकको तथ्याङ्कमा यो वर्ष पर्सामा ४९ ओटा मानव अधिकार उल्लङ्घनको घटना सङ्कलन गरिएको छ ।

इन्सेक पर्साका प्रतिनिधि शम्भु कुमार सुमनले प्रस्तुत गरेका प्रतिवेदनमा एक वर्षको अवधिमा परिवारजनबाट तीन जना महिला र दुई जना पुरुषको हत्या, १३ बालिका र नौ महिला गरी २१ ओटा बलात्कारको घटना रहेको छ ।

यसै गरि इन्सेक पर्साका अनुसार १२ बहुविवाह, तीन महिला बेचबिखन, एक बलात्कार प्रयास तथा आत्म हत्या दुरुत्साहन, एक कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार लगायतका मनाव अधिकार उल्लङ्घनको घटना भएको छ ।

कार्यक्रमका प्रमुख अतिथी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले मानव अधिकारको विषय बहुयामिक भएको बताउनु भयो । उनले इन्सेकको प्रतिवेदनले समग्र जिल्लाको अवस्था देखाएकोले यस तर्फ हामी सबैको ध्यान जानु पर्ने जरुरी रहेको बताउनु भयो । अधिकारीले इन्सेको प्रतिवेदनले पडितहरुको आवाजलाई न्यायीक प्रक्रिया सम्म पुर्‍याउन सहयोग पुगेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले अहिले पनि मानव अधिकार उल्लङ्घनको घटना व्यापक रुपमा भइरहेको बताउदै उनले यसको नियन्त्रणमा राज्यको लापरवाही देखिएकोले यसमा गम्भिर हुनु पर्ने धारणा राख्नु भयो ।

पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जिल्लामा हुने सम्पूर्ण मानव अधिकार उल्लङ्घनका घटनाहरु इन्सेक मानव अधिकार वर्ष पुस्तकमा समेटिनु पर्ने बताउनु भयो । मानव अधिकार उल्लङ्घनका घटना वर्ष पुस्तकमा समेटी त्यसको नियन्त्रणमा राज्य गम्भिर हुनु पर्ने धारणा राख्नु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले मानव अधिकार उल्लङ्घनको घटनालाई पनि प्रहरीले अपराधिक घटना कै रुपमा लिएको बताउनु भयो । उनले अपराधिक घटना घटाउने सम्पूर्ण माथि नियम अनुसार कारवाही भइरहेको दाबी समेत गर्नु भयो ।

इन्सेक पर्साका पूर्व प्रतिनिधि एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केशी लामिक्षानेको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ मधेश प्रदेशका उपाध्यक्ष नरेश जयसवाल, दिव्य विकास स्रोत केन्द्रका कार्यक्रम प्रबन्धक गणेश ठकुरी, महिला अधिकारकर्मी लक्ष्मी कुमारी उप्रेती, बृजलाल पासवान लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

ada25218-95b1-4fb3-8dcf-7a5bf67a9ed4

अन्य

भिडियो