अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कास्कीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व समीक्षा कार्यक्रम मङ्सिर २३ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले नेपाल मावनअधिकार वर्ष पुस्तकले मानवअधिकार उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न सहयोग पुर्याउने बताउनुभयो । पुस्तकले मानवअधिकारको अवस्था उजागर गर्ने भएकाले प्रकाशन पूर्व गरिने समीक्षा महत्वपूर्ण भएको बताउनुभयो । पूर्व समीक्षा कार्यक्रमले सरकारलाई झक्झकाउने उहाँको भनाई थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले मानवअधिकार उल्लङ्घनका घटना निन्दनीय रहेको सुनाउनुभयो । उहाँले राज्यले यस्ता उल्लङ्घनका घटनालाई न्यूनीकरण गर्न पहल गर्न जोडदिनुपर्ने सुनाउनुभयो । मानवअधिकारका घटनामा आफू संवेदनशील रहेकाले अरुलाई पनि सचेत रहन उहाँले अनुरोध गर्नुभयो ।
गण्डकी प्रदेशका सचिव तीर्थराज भट्टराईले कानुनको अधिनमा रहेर कर्तव्यका पालना गरे आधा समस्या समाधान हुने बताउनुभयो । उहाँले इन्सेकले घटनाको प्रलेख मात्रै नभएर जिल्लाका अन्य संयन्त्रसँग सहकार्य गरेर घटना न्यूनीकरणमा भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका वक्ताले न्यायिक प्रक्रियाको अन्तिम चरणसम्म पीडितको बयान एउटै नभएको कारण थप पीडामा पर्ने गरेको सुनाउनुभएको थियो । उहाँहरुले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश पीडितहरू होस्टाइल हुने गरेको सुनाउनुभयो । बलात्कार, यौन दुर्व्यवहार, हत्या र अधिकांश बहुविवाह कसुरका पीडितहरू अदालतसम्म पुग्दा होस्टाइल भइसक्ने गरेको विषयलाई छलफल गरिएको थियो ।
महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष केशु भुजेलले अघिल्लो वर्षभन्दा यसवर्ष महिला हिंसाका घटनाहरु बढेकाेमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले पोखरा जस्तो सहरमा पनि महिला हिंसाका घटना वृद्धि हुँदा गाउँगाउँका अवस्था कस्तो होला भन्दै चिन्ता व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा गैसस महासंघ गण्डकीका कार्यवाहक अध्यक्ष तथा मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष पदमराज पहारीले पीडितलाई न्यायको पहुँचमा पुर्याउन सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले कास्की जिल्लामा सन् २०२३ जनवरीदेखी नोभेम्बसम्म १ सय ३८ जना मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटना बाट पीडित भएको अभिलेख गरेको छ । जसमा बालबालिका विरुद्ध हुने सबै प्रकारका घटनाबाट १६ जना, कुटपिटका ६ जना, जातीय विभेदबाट दुई जना, अमानवीय व्यवहारका ५ जना, बम विस्फोटबाट घाइते दुई जना र धक्कीबाट चार जना पीडित भएका छन् । यस्तै, महिला विरुद्ध हुने ज्यादतीका घटनामा घरेलु हिंसा, बलात्कार, यौन दुर्व्यवहार महिला बेचबिखनबाट १ सय ४ जना र परिवारजनबाटै एक जनाको हत्या भएकोे अभिलेख इन्सेकले गरेको छ ।

